भारत विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सलाई ५ विकेटले हराउँदै क्वाटरफाइनलनजिक

नयाँदिल्ली (एजेन्सी) – युवराज सिंहले अर्द्धशतक बनाएपछि भारत विश्वकप क्रिकेटमा बुधबार नेदरल्यान्ड्सलाई ५ विकेटले हराउँदै क्वाटरफाइनलनजिक पुगेको छ ।

भारतले १ सय ९० रनको विजयी लक्ष्य ३६ ओभर तीन बलमा पूरा गर्‍यो । युवराजले नटआउट ५१ रन जोडे । उनले चौका प्रहार गर्दै टिमको विजयी लक्ष्य पार गरे । कप्तान महेन्द्र सिंह धोनीले नटआउट १९ रन जोडे । युवराजले ७३ बलमा सात चौका हाने ।

भारतका लागि वीरेन्द्र सहवाग र सचिन तेन्दुलकरले उत्कृष्ट सुरुआत गरे । दुवैले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरे । सहवागले आक्रामक ब्याटिङ गर्दै २६ बलमा ३९ रन जोडे । उनले पाँच चौका र दुई छक्का प्रहार गरे । तेन्दुलकरले २२ बलमा छ चौका मदतले २७ रन बटुले । उनी विश्वकप क्रिकेटमा २ हजार रन पूरा गर्ने पहिलो खेलाडीसमेत बने ।

गौतम गम्भीरले २८ तथा विराट कोहलीले १२ रन योगदान गरे । भारतले ९९ रनको स्थितिमा चार विकेट गुमाएको थियो ।

जितसँगै भारतले चार खेलबाट सात अंक जोडेको छ । शीर्षस्थानमा रहेको भारतको क्वाटरफाइनल यात्रा लगभग निश्चित भएको छ ।

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४६ ओभर चार बलमा सबै विकेट गुमाएर १ सय ८९ रन बनायो । समूह ‘बी’ मा खराब नतिजा निकालेको नेदरल्यान्ड्सका लागि प्रारम्भिक जोडी एरिक स्वार्कजेन्टिक र वेस्ले बारेसीले पहिलो विकेटका रूपमा ५६ रनको साझेदारी गरे ।

उक्त जोडीले राम्रो सुरुआत गरे पनि भारतीय बलरसामु नेदरल्यान्ड्सका ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । एरिकले २८ रन योगदान गरे । उनले ४२ बलमा चार चौका हाने । बारेसीले २६ रन जोडे ।

नेदरल्यान्ड्सका लागि सम्मानजनक योगफल तयार पार्न पिटर बोरेनले ३८ रनको उच्च योगदान गरे । उनले ३६ बलमा दुई छक्का र तीन चौका हाने । मुडासर बुखारीले २१ रन बटुले । बलिङमा भारतीय बलर जाहिर खान चम्किए । उनले तीन विकेट हात पारे । पीयूष चावला र युवराजले दुई/दुई विकेट लिए ।