
होली नआउदै जथाभावी लोला हान्दा अपि्रय घटना हुन सक्ने र प्रहार गरेको लोला लागेर सर्वसाधरणको घाउचोट समेत हुनसक्ने भन्दै जफत गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले शनिबार पत्रकार सम्मेलन गरी बेलुन सार्वजनिक गरेको छ । तातोपानी भन्सारमा १० हजार रुपैया भन्सार तिरेर १४ बोरा (२५ काटुन) बेलुन ल्याएको थियो । भन्सार तिरेको बिलमा दुई सय ८० किलो बेलुन रहेको उल्लेख छ ।
बेलुन भाडाको गाडीमा राखेर ल्याएको अवस्थामा महानगरीय प्रहरी प्रभाग जगातीले शुक्रबार नियन्त्रणमा लिएको हो । ‘भन्सार नतिरी ल्याएको भनेर हामीले नियन्त्रणमा लिएको होइन, भाडाको गाडी चेकिङ्गको क्रममा धेरै मात्रामा भेटायौ,’ परिसरका प्रमुख एवं प्रहरी उपरिक्षक राजेन्द्र श्रेष्ठले भने-‘बढ्दो बिकृतिलाई रोक्न धेरै मात्रामा ल्याएको बेलुन रोकेका हौ, होली सकिएपछि छाड्छौ ।’
होली आउनु अघि नै बेलुनमा पानी राखेर बालबालिका र युवाले महिलालाई लक्षित गरी प्रहार गर्छन् । ‘लोला हान्दा छतबाट खस्न सक्छन, सडकमा हिडिरहेको अवस्थामा लोला छल्न खोज्दा दुर्घटनामा पर्न सक्छ, कामका लागि हिडेका व्यक्ति फोहोर पानी राखेको लोलाले बिगार्न सक्छ,’ उनले भने-‘पर्वको नाममा होलीमा बिकृति भित्रिएपछि ठूलो मात्रामा भित्रिएको बेलुन बिक्रि नहोस भनेर रोकेका हौ ।’ दुई बर्ष अघि होली खेल्ने क्रममा लोकन्थलीमा छतबाट खसेर एक बालिकाले ज्यान गुमाएकी थिइन् ।
बिकृति रोक्न भक्तपुर प्रहरीले जिल्लाको चोक चोकमा निगरानी बढाएको छ । जथाभावी लोला हान्नेको पहिचान गर्न सर्वसाधरण बढी भिडभाड हुने, बस छुट्ने र चढ्ने स्थानमा सादा पोशाकका प्रहरी समेत परिचालन गरेको श्रेष्ठले जानकारी दिए ।
लोला हान्ने कार्यमा विद्यार्थीको संख्या बढी देखिएपछि जिल्लाको सबैजसो विद्यालयमा एक सातादेखि प्रहरीले जनचेतना मुलक कार्य समेत सुरु गरेको छ । परिसर मातहतमा रहेको बृत र प्रभागको कार्यक्षेत्रमा पर्ने सरकारी र नीजि विद्यालयको बिहान हुने प्राथनामै प्रहरीले लोला नहान्न आग्रह गर्ने गरेको छ ।
‘प्रथाना चलिरहेको बेला विद्यालयका शिक्षकसंग सहकार्य गछौ,’ प्रभाग कटुन्जेका सई कोमल खत्रीले कान्तिपुरसित भने-‘होलिको दिन बाहेक अन्य दिन लोला हान्नु बिकृति हो, उनीहरु तपाई हाम्रो पनि दिदी बहिनी हो भन्ने गरेर सम्झाने गरेका छौ ।’ महिलालाई लक्षित गरेर लोला हान्ने गरेकोले विद्यालयमा जनचेतना जगाउन महिला प्रहरीलाई पठाउने गरेको श्रेष्ठले जानकारी दिए ।
लोला नहानौ, संस्कृतिलाई बचाउ भन्ने सन्देश दिन शनिबार दुधपाटीबाट र्याली निकालेर सहरको विभिन्न स्थान परिक्रमा गरेको थियो । र्यालीमा विद्यार्थी, स्थानीयबासी र प्रहरी थिए ।



