
ट्रेडवेलले ४८ रन खर्चेर चार तथा स्वानले ३६ रन दिएर ३ विकेट हात पारे । उनीहरूको प्रदर्शनसामु दोस्रो वान-डे खेलिरहेका वेस्ट-इन्डिजका आन्द्रे रसेलको अलराउन्ड प्रदर्शन छायाँमा पर्यो । रसेलले ४९ रन खर्चेर ४ विकेट लिनुका साथै ४९ रनको योगदान पनि गरेका थिए ।
उत्कृष्ट सुरुआत गरेको वेस्ट-इन्डिजको मध्यक्रम इंग्ल्यान्डको बलिङसामु टिक्न नसकेपछि ४४ ओभर ४ बलमा २ सय २५ रनमै समेटियो । उसले ३ रन जोड्न महत्त्वपूर्ण ४ विकेट गुमाएको थियो । पराजित टिमका लागि रसेलबाहेक क्रिस गायलले ४३ तथा कप्तान डारेन सामीले ४१ रन बनाए ।
यसअघि इंग्ल्यान्डले ४८ ओभर ४ बलमा २ सय ४३ रनमात्र जोडेको थियो । उसका लागि जोनाथन ट्रटले सर्वाधिक ४७ रन बनाए । वेस्ट-इन्डिजका लागि डेब्यु गरिरहेका देवेन्द्र विसुले तीन तथा केमर रोचले दुई विकेट हात पारे ।
इंंग्ल्यान्डको रोमाञ्चक जितसँगै अब भारतलाई वेस्ट-इन्डिजविरुद्धको खेल जित्नुपर्ने दबाब बढेको छ । लिगको अन्तिम खेलसँगै इंग्ल्यान्डको सात अंक भएको छ भने ऊ तेस्रो स्थानमा छ ।
वेस्ट-इन्डिजको पाँच खेलबाट तीन जितसहित ६ अंक छ । भारतको पनि सात अंक छ र ऊ रन औसतका आधारमा दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको दक्षिण अपि|mका अन्तिम आठमा पुगिसकेको छ । बंगलादेशको पनि ५ खेलबाट छ अंक छ ।



