काठमाडौ – होलीको रौनकमा सहर रंगिनै लागेको बेला शनिबार गोदावरीस्थित अभिनेत्री करिश्मा मानन्धरको घरमा भने माहौल तात्तिइसकेको थियो । बिहानको ठीक ११ बज्दा करिश्माको आँगनमा होलीका लागि अनेक रंग र खानेकुराको परिकारसँगै आइटम गीतहरू बज्न थालिसकेका थिए र नेपाली फिल्मी दुनियाँका कलाकार, निर्देशकदेखि निर्मातासम्म उनको होली निम्तो मान्न तम्तयार थिए ।
नेपाली चलचित्रकर्मीलाई एकैथलोमा भेला पारेर पारिवारिक स्वादको होली मनाउने ध्येयले करिश्माले होलीको आयोजना गरेकी थिइन् । सौहार्दपूर्ण वातावरणमा एकअर्कालाई रंग दलेर बिहान ११ बजे सुरु भएको होलीमा रेखा थापा, रेजिना उप्रेती, नन्दिता केसी, नरेश पौडेल, ऋचा घिमिरे, राजबल्लभ कोइराला, सुषमा कार्की, जेनी कुँवर, सोभित बस्नेत, दीपक-दीपाश्री, राजेन्द्र खड्की, निरज बराल, निर्मल शर्मा, जेनिसा हमाल, दिनेश डीसी, नलिना चित्रकार, प्रेमराजा महत, किरण केसी, रमिला अधिकारीलगायतका नयाँ-पुराना चलचित्रकर्मी र गायक-गायिका थिए ।
सफ्ट डि्रंक्सदेखि वाइन र हार्ड डि्रंक्ससम्म व्यवस्था गरिएको होली माहौलमा प्रायः अभिनेत्रीहरूले वाइन र अभिनेताहरूले चाहिँ हार्ड डि्रंक्स्का गिलास उचाले । गाना-बजानामा प्रायः सबै रमे । नेपाली गीत ‘होलीले रंग्यायो मेरो नयाँ चोली…’, ‘तिलहरी’ फिल्मको ‘होरिया होरिया हो रंग…,’ हिन्दी आइटम नम्बर ‘मुन्नी बदनाम हुई…’ र ‘शिला के जवानी…’ ले माहौल तताए । पत्रकारहरू सोधिरहेका थिए, ‘नेपाली होलीमा नेपाली गीत किन बजाइँदैन ?’ कलाकार जवाफ दिन्थे, ‘नेपाली गीत त भए पो ?’
सबैभन्दा बढी रंग छ्याप्नेमा अभिनेत्री सुषमा कार्की र करिश्माकी छोरी कविता थिइन् । यी दुईले सबैलाई लखेटीलखेटी रंग घँस्थे, पिचकारी र लोला हान्थे । अरूहरूले रंग घस्न आउँदा रेजिनाले बचावटका लागि निर्देशक सोभितको नाम लिन्थिन् । नाच्दै गर्दा किरण केसीले रेजिनालाई च्याप्प समाएर जुरुक्क उचाले । राजेन्द्र खड्की र सुषमाको नृत्यमा सबैले आँखा पथ्र्यो । दिनेश डीसी पनि बेला-बेला र्याप हान्थे ।
लगभग दुई बजेतिर करिश्माको आँगनमा बर्थडे केक देखियो, विनोद मानन्धरले सबैलाई सरप्राइज दिँदै आफ्नो बर्थडे घोषणा गरे । केक काट्दै पहिले पत्नी करिश्मा र छोरी कवितालाई खुवाए । धेरै सोधनी भए पनि विनोदले उमेर चाहिँ बताएनन् । साँझ ५ बज्दै गर्दा पनि त्यहाँ कलाकारहरू आइरहेकै थिए । सबैभन्दा बढी फसाद ट्राफिक प्रहरीलाई । कलाकारको गाडीले गर्दा करिश्माको घर आसपासको गोदावरी बाटो लामो समय जामै गर्यो ।
प्रायः सबै कलाकारले होलीको जमघटलाई प्रशंसा गरे । ‘कलाकारहरू एउटै परिवारमाझैं यसरी होली मनाएको क्षण सधंैका लागि अविस्मरणीय हुनेछ,’ बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मै बसेकी रेखाले भनिन्, ‘यसले कलाकर्मीलाई बेग्लै ऊर्जा दिएको छ ।’
रेजिनाले ‘रियल लाइफमा होलीको पहिलोपटक यति धेरै मज्जा बटुलेकी’ अनुभव सुनाइन् । ‘तीन/चारवटा होलीमा गएर १०/१० मिनेट मात्रै बसेर आएँ, यहाँचाहिँ दिनभर नै बस्छु’ भन्दै माहौलमा रमेका प्रेमराजा महत पनि साँझसम्मै जमे । निर्देश नरेश पौडेलले ‘यस्तो भावनात्मक र रमाइलो होली संस्थागत भएको भए झन राम्रो हुन्थ्यो भन्दै करिश्माको खुलेर प्रशंसा गरे ।’
‘जमघट नभएको लामो समय भएको थियो,’ करिश्माले भनिन्, ‘एउटा आत्मीय भेटघाटका लागि होलीलाई रोजेकी हुँ ।’