फिल्म कलाकार र पत्रकारबीचको पोखरा रंगशालामा भएको फुटबल खेलमा फिल्म कलाकार विजयी

पोखरा  – फिल्म कलाकार र पत्रकारबीचको पोखरा रंगशालामा शनिबार भएको फुटबल खेलमा फिल्म कलाकार विजयी भएका छन्। फिल्म कलाकार टोलीले ३-१ गोल अन्तरमा पत्रकारलाई पराजित गरेका छन्। बक्स अफिस फुटबल लिगअर्न्तगत कलाकार टोली र पत्रकारबीच फुटबल खेल भएको हो। कलाकारको तर्फबाट सुभास मेचेले २ तथा रोशन श्रेष्ठले एक गोल गरेका थिए।


 

 Click on the slide!

 

पत्रकारको तर्फबाट एकमात्र गोल सुमन कार्कीले गरेका थिए। नायक धिरेन शाक्यको कप्तानीमा कलाकार टोली र दीपेन्द्र लामाको नेतृत्वमा पत्रकार टोली मैदानमा उत्रेका थिए।

कलाकारको तर्फबाट राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा लगायतका कलाकार मैदानमा उत्रने भन्दै प्रचार गरिएपनि उनीहरु उत्रेनन्। राजेश त उपस्थित नै भएनन् भने करिश्मा र रेखा खेल हुनुअघि नै बाहिरिएका थिए। पुराना र चर्चित कलाकार मैदानमा उत्रने आशमा रंगशाला पुगेका दर्शक उनीहरुको अनुपस्थितिमा खल्लो मानेका थिए। रेखाले भने राजेशपायल राईसँग गित गाएर मनोरञ्जन गराएकी थिइन।

कास्की जिल्ला खेलकुद विकास समिति र खेलकुद पत्रकार मञ्चको सहयोगमा खेल भएको थियो। फिल्म कलाकारले यसअघि नृत्य कलाकारको टिमसँग तथा पत्रकारले संगीतकर्मी र हास्य कलाकार टिमसँग हार बेहोरेको थियो। ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल काठमाडौंमा हुनेछ।