सार्वजनिक लेखा समितिले नक्कली भ्याट बिल छानबिन गरिरहेका अर्थ सचिवको राजीनामा प्रकरणबारे जानकारी लिन अर्थमन्त्रीलाई बोलायो

काठमाडौं – सार्वजनिक लेखा समितिले नक्कली भ्याट बिल छानबिन गरिरहेका अर्थ सचिव रामेश्वर खनालको राजीनामा प्रकरणबारे जानकारी लिन अर्थमन्त्री भरतमोहन अधिकारीलाई बोलाएको छ ।

सभासदहरुले नक्कली भ्याट बिल छानबिन गरिरहेका अर्थ सचिवलाई राजनीतिक हस्तक्षेप गरि राजीनामा दिन लगाएको भन्दै आपत्ति जनाएपछि सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकले अर्थमन्त्री अधिकारीसहित मुख्य सचिव माधवप्रसाद घिमिरे, राजश्व सचिव कृष्णहरि बाँस्कोटालाई बिहीबार बिहान ८ बजे बोलाएको हो ।

‘एउटा सचिवले राजीनामा दिनु ठुलो कुरा होइन तर नक्कली भ्याट बिल छानबिन गरिरहेका सचिवलाई राजीनामा गर्न बाध्य तुल्याउनु राम्रो भएन’ भन्दै बैठकमा सभासदहरुले अर्थमन्त्रीको चर्को आलोचना गरेका थिए ।

अर्थमन्त्री अधिकारीको ‘अनुचित दबाब’मा अर्थ सचिव खनालले मंगलबार राजीनामा दिएका थिए । उनी प्रशासन संयन्त्रमा क्षमतावान र स्वच्छ छविमा गनिन्छन् ।