परम्परागत घोडेजात्रा पर्व मनाइयो

Nepalese army personnel ride through a frame ...

 

काठमाडौँ –  राष्ट्रपति डा रामवरण यादवले घोडेजात्राको उपलक्ष्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित घोडा दौड प्रतियोगितालगायत विविध कार्यक्रमको अवलोकन गरे।

 

राष्ट्रपति यादव नेपाली सेनाका परमाधिपति हुन्। काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष चैतकृष्ण औँसीका दिन परम्परागत घोडेजात्रा पर्व मनाउने गरिन्छ।

 

Nepali army regulars compete in a game of Horse ...

 

समारोहमा घोडा दौडअन्तर्गत टि्रक राइड, टाँगन घोडा दौड र चार्जर घोडा दौड प्रस्तुत गरिएको थियो।

 

घोडा दौडका अतिरिक्त समारोहमा शो जम्प, टेण्ट पेगिङ्ग, ड्रिल राइड, भल्टिङ एक्सरसाइज, रेन फ्रि जम्प, म्यूजिकल राइड, हर्स बल, क्रस कन्ट्री-वाटर जम्प, पुसान्स (हाइट जम्प), हङ्गेरीयन पोष्ट र घोडेजात्रा समापन (फायर जम्प) प्रस्तुत गरिएको थियो।

 

A Nepalese army regular competes in the high ...

 

समारोहमा राष्ट्रपति डा यादवले म्यूजिकल राइडलगायतका खेलमा उत्कृष्ट हुने सेनाका अधिकृतलाई पुरस्कार प्रदान गरे।
समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री झलनाथ खनाल, प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ, सभामुख सुवास नेम्वाङ सहभागी छन्।


त्यसैगरी मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख एवं समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव घोडेजात्रा समारोहमा उपस्थित थिए।

घोडेजात्रा हेर्न टुँडिखेल वरपरसर्वसाधारणको घुइँचो लागेको थियो।

टुँडिखेलको दक्षिण-पूर्वस्थित रूखमा बस्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको र त्यसबाट पीडित सहरवासीले उसलाई मारे पनि प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भयले गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सिलसिलामा घोडेजात्रा पर्व प्रारम्भ भएको मानिन्छ।

सहरका कुनै पनि बालबालिकामाथि अनिष्ट नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइने चलन रहिआएको छ।


सरकारले काठमाडौँ उपत्यकाभित्रका सबै सरकारी कार्यालयलाई आज सार्वजनिक बिदा दिएको थियो।


सैनिक मञ्चमा आयोजना भएको घोडेजात्रा समारोहको विभिन्न विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए। –

 

– रासस