अर्थमन्त्रीको पद जोगीको पेशा जस्तै भएको अर्थमन्त्री भरतमोहन अधिकारीको टिप्पणी

उपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीले अर्थमन्त्री पद पनि जोगी जस्तै भएको टिप्पणी गरेका छन् ।


सुनसरीको इटहरीमा बुधबार आयोजित सप्ताहव्यापी ज्ञान महायज्ञको उद्घाटन गर्दै अर्थमन्त्री अधिकारीले यस्तो बताएका हुन् । जोगीले भिख मागेजस्तै अर्थमन्त्री पदमा रहनेले पनि नागरिकहरुवाट राजश्व उठाएर देशको विकासमा काम गर्नुपर्ने भएकाले अर्थमन्त्री पद जोगीको जस्तो भएको आफूलाई अनुभूति भएको बताए ।


सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री अधिकारीले अर्थसचिव रामेश्वर खनालले व्यक्तिगत कारणले राजीनामा दिएको बताए । राजीनामा वा अरु कुनै विषयका लागि आफूले कुनै पनि प्रकारको दबाब दिएको सत्य नभएको उनले बताए । यही कुरा आफूले संसदमा पनि राखिसकेको उनले सुनाए ।


अर्थमन्त्री अधिकारीले बुधबारै बुढीखोलामा निर्माण गरिने विद्युतीय शवदाहस्थलको पनि शिलान्यास गरे । बुढीजमुना मुक्तिघाट निर्माणार्थ सहयोग जुटाउनका लागि महायज्ञ आयोजना गरिएको हो ।


बुढीखोलाको पश्चिमी क्षेत्रको इटहरीतिरको जमिनमा १० करोडको लागतमा निर्माण गर्न लागिएको उक्त स्थलमा मन्दिर, वगैचा, खानेपानी, सडक, क्रियापुत्री वस्ने भवन, मलामी वस्ने भवन आदि निर्माण गरिने योजना छ ।


योजना सम्पन्न गर्नका लागि यसअघि सुनसरी र मोरङका ७५ जनाभन्दा बढीले १ करोडभन्दा वढी रकम दिने प्रतिवद्धता जनाइसकेका छन् । कार्यक्रम अवसरमा श्रीकृष्ण प्रणामी मुक्तिधाम इटहरीवाट निक्लिएको सयौको सङ्ख्याको शोभा कलश यात्राले इटहरी नगरको परिक्रमा गरेको थियो । मुक्तिधामवाट निक्लिएको शोभा कलश यात्राले इटहरी नगरको मुख्य मुख्य स्थानको परिक्रमा गरी महायज्ञस्थल पुगेर धार्मिक समारोहमा रुपान्तरण भएको थियो ।