सेतीनदी किनारमा बालुवा निकाल्ने क्रममा बालुवाको ढिस्कोले पुरिएर दुई बालिकासहित चार जनाको मृत्यु

पोखरा – कास्कीको लेखनाथ नगरपालिका- १३ स्थित सेतीनदी किनारको मजुवा रातोपैह्रोघाटमा बालुवा निकाल्ने क्रममा बालुवाको ढिस्कोले पुरिएर बिहीबार दुई बालिकासहित चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँ रिसिङ,- ६ कोटदरवार स्थायी घर भै लेखनाथ १३ कोत्रे बस्ने ४० वर्षीया श्रीमाया आले, उनकी ८ वर्षीया छोरी बीनिसरा आले, कास्की भाचोक- ७ का २२ वर्षीया सुमित परियार र धनकुटा राजारानी- ५ घर भै लेखनाथमा बस्दै आएकी ९ वर्षीया अम्बिका राई रहेका छन ।

बालिकाहरु आमाबाबुसंगै रहेका र परियार भने बालुवा बोक्ने ट्रयाक्टरका सहचालक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालुवा निकालेर ट्रयाक्टरमा लोड गर्ने क्रममा ढिस्को खसेर उनीहरु पुरिएका थिए । मृतकको शवलाई पोष्टमार्टमकालागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा लैजाने तयारी भैरहेको डाँडाकोनाक प्रहरी कार्यालयले जनाएको छ ।