भक्तपुर – विस्केट जात्राको पाँचौं दिन बिहीबार भक्तपुर- ११ स्थित धेलुखेलमा लिङ्गो भाँच्चिएको छ । बिहीबार लिङ्गो उठाउने दिन थियो । विस्केट जात्राको लिङ्गो भाँच्चिए पनि कुनै मानवीय क्षति हुन पाएन ।
भक्तपुरको प्रसिद्ध बिस्केटजात्रा भव्यरूपमा मनाइयो
भक्तपुरको प्रसिद्ध बिस्केटजात्रा भव्यरूपमा मनाइएको छ । भेलुखेलमा बुधबार साँझ ८२ हात लामो विश्वध्वजासहितको लिङ्गो उभ्याएपछि बिहीबार सो जात्रा हेर्नेको घुइँचो लागेको हो।
जात्रा हेर्न आज बिहानैदेखि भक्तपुर, ललितपुर, काठमाडौं, काभ्रे, बनेपा ,सिन्धुपाल्चोलगायत उपत्यका बाहिरका जिल्लाबाट समेत हजारौंको सङ्ख्यामा भक्तालुहरु आएका तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए। विगतमा भन्दा यसवर्ष जात्रा हेर्न आउनेको सङ्ख्या उल्लेख्य वृद्धि भएको स्थानीयवासीले बताइएका छन्।
आज बिहानैदेखि लिङ्गो उभ्याएको ठाउँमा बलि दिने र पूजा गर्नेको समेत घुइँचो लागेको छ। आजै साँझ लिङ्गोमा अन्तिम पूजा गरी लिङ्गो ढाल्ने परम्परा रहेको छ।
सांस्कृतिक महत्व बोकेको बिस्केटजात्रा हेरेमा शत्रु एवम् दुःख नाश हुने किम्बदन्ती रहेको स्थानीय बासिन्दा बताउँछन्।
यसैबीच भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा आज बिहानैदेखि भव्य मेला लागेको छ।
चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर महादेवको पूजा गरे शरीरका सबै रोग नास भई गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीयवासी एवम् संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताए।
किम्वदन्तीअनुसार सिकारीले मारेको भँगेरा चरखण्डीको पोखरीमा डुब्दा पुनः जीवित बनेको भनाइ छ। प्रत्येक वर्ष वैशाख १ गते मनाइने यस मेलामा यहाँको कुण्डमा नुहाए जिउका खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बुढापाका बताउँछन्।
– रासस



