
बिस्केट जात्राको छैटौं दिन भक्तपुरमा यो चाड मनाउँछन् । मध्यपुर ठिमी नगरपालिका-२ बोडे विष्णुघाट पाचोगणेश मन्दिर अगाडि कर्मी नाइकेले एक फिट लामो फलामे सियोले जुजुभाइको जिब्रो छेडिदिए । यसअघि कर्मी नाइकेले सम्पूर्ण देवी देवतासँग प्रार्थना गरेका थिए ।
त्यही जिब्रो छेड्नका लागि परम्पराअनुसार उनी तीन दिनदेखि उपवास बसेका थिए । महिला र पशुपन्छीलाई छुँदैनथे । जिब्रो छेडिएपछि अर्धचन्द्राकारको महादीप बालेर काँधमा बोकाई सहर घुमाइएको थियो । बोडे वरपर रहेका महालक्ष्मीलगायतका शक्तिपीठ दर्शन गर्दै सियो झिकेर गणेशस्थानमा राखिएको छ । सियो निकालेपछि महालक्ष्मी देवताको माटो सियोले खोपेको प्लालमा राखेका छन् । सियो झिकेर नाकेश्वरको पुजा गरेपछि मात्र उनले खानेकुरा खाए ।
किंवदन्तीअनुसार दुःख दिने राक्षसलाई पक्रेर जिब्रो छेडी सहर घुमाएको सम्झनामा जात्रा मनाउन थालिएको हो । जात्रा मनाउँदा महामारी रोग नलाग्ने, देशमा अनिकाल हुनबाट बचाउने, अनावृष्टि र अतिवृष्टि हुन नदिने, बाहिरी देशबाट आएका पर्यटकलाई पाल्न र धर्म चेस्टा बढाउन सक्षम हुने विश्वास गरिन्छ । महालक्ष्मी, भैरव, कालीका, नीलबाराही र गणेश भगवानो प्रतीक सातवटा खट काँधमा बोकेर घुमाएका छन् ।



