चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आक्रमणबाट र घर भत्कदा १-१ जनाको मृत्यु

भरतपुर – चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आक्रमणबाट बुधबार बिहान एक जनाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुन्जको २ नम्बर पुलमा घाँस काट्न गएका बछौली गाउँ विकास समिति वडा नम्बर ३ बस्ने  ६५ वर्षीय मणिरत्न आचार्यको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरी चौंकी बछौंलीले जनाएको छ ।

बुधबार बिहान ८ बजे हात्तीले आक्रमण गर्दा  मृत्यु भएको हो । शव बिहान सवा १० बजे मात्र फेला परेको थियो । चितवनको मेघौलीमा हिजो मात्र हात्तीको आक्रमणबाट ४५ वर्षीया भिममाया तामाङ्गको मृत्यु भएको थियो ।

रामपुर स्थित कृषी क्याम्पस परिसरमा घर भत्किदा एकको मृत्यु

भरतपुर- चितवनको रामपुर स्थित कृषी क्याम्पस परिसरमा घर भत्कदा एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान १० बजे क्याम्पस परिसरमा रहेको घर भत्कदा मृत्यु हुनेमा भारत मतिहारी घर भएका ३० वर्षीय प्रदिप शाह रहेको प्रहरीले जनाएको छ । त्रिवेणी विकास बैंकले एटिएम मेसिन राख्नका लागि निर्माण कार्य गरिरहेका बेला घर भत्किएर  शाहाको मृत्यु भएको हो ।

उता चितवनको गुञ्जानगरमा बिजुलीको हाइटेन्सन लाइन अचानक खस्दा तीन जना घाइते भएका छन् । गुञ्जानगर ८ स्थित केवल चौधरीको घरमा तार खस्दा तिन जना घाईते भएका हुन् । उनिहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

चौधरीको घरमा आगलागी समेत भएको छ । आगलागीका कारण मानविय क्षती नभएपनि लत्ताकपडा र अन्नपात जलेर नष्ट भएका छन् । चौधरीको दुईवटा चौंपाया समेत जलेर मरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।