केही दिनभित्रै लोडसेडिङ घटाउने ऊर्जामन्त्रीको घोषणा

काठमाडौं –  केही दिनभित्रै नेपाली जनताले अनुभव गर्ने गरी लोडसेडिङ घटाउने ऊर्जामन्त्री गोकर्ण विष्टले घोषणा गरेका छन् । लोडसेडिङ घटाउन सरकारले अल्पकालीन उपाय सहितको कार्ययोजनालाई अगाडि बढाएको उनले जानकारी दिए ।

‘लामो समयसम्म उर्जा संकट रहँदैन । जनताले अनुभव गर्न पाउने गरी लोडसेडिङ तत्काल कम हुन्छ,’ रिपोर्टर्स क्लवको साक्षात्कारमा शुक्रबार ऊर्जा मन्त्री विष्टले भने । उनले तत्काल लोडसेडिङ घटाउन विद्युत चुहावट नियन्त्रण गर्ने, पावर प्लान्टहरु सन्चालनमा ल्याउने, अहिले भएकै जलविद्युत आयोजनाको क्षमता विस्तार गर्ने योजना सुनाए ।

मन्त्री विष्टले वितरण कार्यलाई सन्तुलित पार्ने र कम विद्युत उपयोग गर्ने प्रविधिको विस्तार गर्ने कार्यमा सरकार जुटेको जानकारी दिए । चुहावट नियन्त्रण गर्ने कार्यमा ५० प्रतिशत बढी विद्युत चोरी हुने जिल्लामा दुईघण्टा लोडसेडिङ थपेर सो विद्युत चुहावट नहुने जिल्लामा आगामी १५ दिनभित्रै थपिने मन्त्री विष्टले स्पष्ट पारे ।

खिम्ती भोटेकोशी प्रशारण लाइन निर्माण कार्यलाई दुई महिनाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको भन्दै उनले प्रशारण लाइन निर्माणपछि केही लोडसेडिङ घट्ने विश्वास ब्यक्त गरे । आगामी २०७२ भित्रमा नेपाललाई लोडसेडिङ मुक्त बनाउने सरकारको दिर्घकालीन योजना रहेको उनले बताए ।

नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नबढाई लोडसेडिङको समस्या समाधान गर्न नसक्ने भनेर भनिरहेको अवस्थामा ऊर्जामन्त्री विष्टले सरकार विद्युत महसुल बढाउने पक्षमा नरहेको स्पष्ट पारे । ‘हाम्रो ध्यान लोडसेडिङ कम गर्नेमा केन्द्रित छ विद्युत महसुल बढाउनेमा होइन,’ उनले भने ।

मन्त्री भएकै दिन आपराधिक समूहको आक्रमणमा परेका विष्टको ब्यान्डेज अझै खोलिएको छैन ।