शनिबार रविशंकरको प्रवचन ‘आर्ट अफ लिभिङ’ भाग लिन आएका खन्नाले पनि तपोवनमै बस्ने योजनाका साथ छिट्टै काठमाडौं आउने आश्वासन दिए।
करिव ३५ वर्षअघि ओशोको शिष्य बनेका खन्ना उनीसँगै अमेरिका गएका थिए। ‘त्यत्रो नाम चलेको कलाकार पाँच वर्ष ओशोको बगैंचे भएर बसे। म्युजिक डिपार्टमा रहेर ड्रमरको रूपमा काम गरेँ,’ आनन्द अरुणले यसो भन्दा उकालो हिँड्दाको थकाइले चूर भएका खन्नाले मुन्टो हल्लाउँदै सहमति जनाए। ६४ वर्ष कटेका यी अभिनेता गाडीमै थकाइ मेटाउँछु भन्दै ओशोमार्गीबाट बिदा भए।
‘अभिनय र अध्यात्ममा कस्तो सम्बन्ध छ?’ उनले भने, ‘यस्तै छ भनेर व्याख्या गर्न समय लाग्छ। यो अनुभव गर्ने कुरा हो। एउटा कुरा निश्चित छ अध्यात्मले केहीमा पनि हानी पुर्याउँदैन।’
खन्नासँग लामो समयदेखि परिचित आनन्द अरुणले भने अध्यात्मको लत बसेपछि खन्नाले अभिनयको वाहवाही समेत चटक्क छोडेको प्रसंग उप्काए। ‘ओशोसँग नजिकिएपछि ८० को दशकमा उहाँले सम्झौता गरेका सबै फिल्म छोड्नुभयो। त्यसवापत एडभान्स लिएको ५० लाख पनि फर्काउनु भयो।’
९० को दशकमा फिल्म क्षेत्रमा पुनरागमन गरेर पनि उनले सफलता हात पारेको सम्भि्कए उनले। ‘यसरी बाँच कि जीवन अभिनय हो। यसरी अभिनय गर कि यो वास्तविक हो,’ ओशोको यो भनाइ आत्मसात गरेपछि मनोजकुमारको अभिनयले सफल मोड लिएको चर्चा गर्नसमेत भ्याए आनन्द अरुणले।
भारतीय जनता पार्टीमा रहेर राजनीति समेत गर्दै आएका खन्नाले यो यात्राको बिट मार्ने सोच सुनाए। पछिल्लो पटक ‘दबंग’ फिल्ममा देखिएका अभिनेताले फिल्मी करियरबारे भने, ‘फिल्म खेलेँ भने दर्शकले थाहा पाइहाल्नेछन्। अहिले बताइहाल्ने कुनै काम भएको छैन।’ उनी मंगलबार मुम्बई फर्किएका छन्।



