लमजुङ – सार्क राष्ट्रमै नमुनाको रुपमा चिनिएको लमजुङको ग्रामिण पर्यटकीय गाउँ घलेगाउँमा शुक्रबारदेखि १२ औ घलेगाउँ महोत्सव सुरु भएको छ ।
महोत्सवको रक्षा मन्त्री विष्णु पौडेलले उदघाटन गरे । महोत्सवको उदघाटन गर्दै मन्त्री पौडेलले शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउन माओबादीले शिविरको हतियार सरकारलाई बुझाउनु पर्ने बताए । ‘हतियारको दम्ब र हिंसाको बाटोबाट शान्ति छाउन सक्दैन, उनले भने -‘शान्ति प्रकृया तार्किक निष्कर्षमा पुर्याउन माओवादीले तत्काल क्यान्टोन्टमेन्टका हतियार सरकारलाई बुझाउनुपर्छ ।’
उनले सविधान निर्माणमा आशंका नगर्न आग्रह गर्दै अहिलेकै सरकारले जसरी पनि सविधान निर्माण गर्ने बताए । साथै पर्यटकीय गाउँ घलेगाउँको पूर्वाधार विकासमा सरकारले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत गरे । तीन दिन-आइतबार)सम्म सञ्चालन हुने महोत्सवमा परम्परागत गुरुङ सस्कृति घाँटु, सोरठी, सेर्का, घ्याव्रे, कृष्ण चरित्र हस्तकलाका समानहरु प्ररदर्शन गरिएको छ ।
हिमालको काखमा रहेको सार्क भिलेज घलेगाउँकोबाट माछापुच्छ्रे्र, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनास्लु, गणेश लगायतका हिमश्रृखलाहरु नियाल्न सकिन्छ । त्यस्तै गरी मर्स्याङ्दी, मिदिम, तथा खुदी लगायतका जलाधारका मनारेम दृष्यहरु हेर्दा मनै प्रफल्लित हुने घलेगाँउ पुगेर फर्किनेहरु वताउँछन् । स्थानिय कला संस्कृति र गाउँको प्रचारप्रसार गरि पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उदेश्यले घलेगाउँलेले विगत ११ वर्षदेखि महोत्सव मनाँउदै आएको छ ।
प्राकृतिक छटाले भरिपूर्ण र संस्कृतिले धनी घलेगाउँमा अहिलेसम्म चार हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिसकेको छ । यो पर्यटन बर्षमा दोब्बर पर्यटक भित्राउने लक्ष्य रहेको घलेगाउँ ग्रामिण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।
स्याङ्जाको सिरुबारीपछि घलेगाउँमा२०५६ सालमा जिल्लामै पहिलो पटक ग्रामिण पर्यटनको अवधारण भित्रिएको हो । घलेगाउँबाटै सिकेर अहिले जिल्लाका दर्जन गाउँहरु ग्रामिण पर्यटकीय गाउँतर्फ उन्मुख छन् ।
सदरमुकाम बेसीशहरबाट मोटरमा २ घण्टामा मज्जाले पुगिने घलेगाउँमा खानेपानी, विजुली र टेलिफोनको सुविधा पनि छ । अब छिटै सामुदायिक इमेल इन्टरनेटको व्यवस्था गरि सुचना केन्द्र स्थापना गर्ने योजना रहेको घलेले सुनाए । समुद्र सतहबाट २१ सय मिटर उचाइमा अवस्थित घलेगाउँका एक सय १६ घरधुरी मध्ये हाल अधिकांश घरमा होमस्टेको व्यवस्था मिलाएको छ ।



