काठमाडौ – माथिल्लो श्रेणीमा फर्केका दुई क्लब बौद्ध र युनाइटेड युथबीच सोमबारको खेलमा तीन उपलब्धि पहिलोपल्ट रहे, यसपल्ट बौद्धले गरेको गोल, जित र विदेशी खेलाडीको ह्याटि्रक । यस्तोमा बौद्धले ३-० को जित सोमबार आत्मसात् गर्यो ।
अर्को खेलमा एपीएफलाई ३-० ले हराएर लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दी ७ अंक जोड्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष तीनमा उक्लियो । समान अंक भए पनि आरसीटीलाई राम्रो गोल औसतका आधारमा पछि पार्दै मनाङ तेस्रोमा पुगेको हो । दुवैले कीर्तिमान ६-६ पल्ट लिग जितेका छन् ।
शतप्रतिशत जितसँगै पुलिस र सामसुङ जावलाखेलले ९-९ अंक जोडेका छन् । राम्रो गोल औसतका आधारमा डिफेन्डिङ च्याम्पियन पुलिस शीर्ष स्थानमा छ । अघिल्लो खेलमा बि्रगेड ब्वाइजसँग गोलरहित नतिजा निकालेको बौद्ध ४ अंकसहित आठौंमा उक्लियो । मनाङले ३ र उसले ६ स्थान फड्को मारेको हो ।
एपीएफ र युनाइटेडले निरन्तर तेस्रो हार बेहोरेका हुन् । दुवैले गोल र अंकको खाता खोल्न सकेका छैनन् । प्रतिस्पर्धी १८ क्लबमध्ये पुछारबाट युनाइटेड पहिलो र एपीएफ तेस्रोमा छन् ।
मनाङ र बौद्धको जितमा दुई समानता रहे, एकतर्फी जित र समान गोल अन्तर । स्टार खेलाडीले भरिएको मनाङको जितमा कप्तान टासी छिरिङले दुई र सन्तोष साहुखलले एक गोल गरे ।
टासीले २८ र ७० औं मिनेटमा गोल गरे । दुवै गोल कर्नरमा सम्भव भए । दोस्रो गोलमा विजय गुरुङले अवसर सिर्जना गरे । सन्तोषको गोल पनि सुजलकै कर्नरमा भएको थियो । सन्तोषले हेडद्वारा बललाई ५६ औं मिनेटमा जाली चुमाएर लिगको चौथो गोल गरेका थिए ।
युनाइटेडविरुद्ध ह्याटि्रक गरेका सन्तोष सर्वाधिक गोलकर्ताको सूचीमा जावलाखेलका कर्ण लिम्बूसँगै तेस्रोमा पुगे । उनीहरूभन्दा अगाडि पुलिसका स्ट्राइकरद्वय जुमनु राई -७ गोल) र भरत खवास (५ गोल) छन् ।
टिम सेटमा केही परिवर्तन गरिएकाले प्रदर्शन सन्तोषजनक भएको मनाङका प्रशिक्षक बालगोपाल महर्जनले बताए, ‘सेन्ट्रल मिडफिल्डमा अझै कमजोरी देखिएको छ । पाएका थुप्रै अवसर चुकाउँदा जित अन्तर फराकिलो हुन सकेन ।
राम्रो खेलेर आफ्नै गल्तीले गोल खाएकाले हार बेहोर्नुपरेको एपीएफका सहायक प्रशिक्षक जनकसिं थारूले बताए, ‘विपक्षी खेलाडीलाई ‘मार्क’ नगर्दा तीन गोल खायौं ।’ एपीएफका डिफेन्डर नूरराज काफ्ले लिगको दोस्रो पहेंलो कार्ड पाएकाले एनआरटीविरुद्ध शनिबार खेल्ने छैनन् ।
लाइबेरियाली फरवार्ड युजिन ग्रेको ह्याटि्रक सहयोगमा बौद्धले महत्त्वपूर्ण जित हात पार्यो । उनले ४५, ५५ र ६९ औं मिनेटमा गोल गरे । क्रसमा सम्भव सुरुका दुई गोल हेडद्वारा गरे । पहिलोमा बुद्ध लामा र दोस्रोमा खुम गुरुङले बल क्रस गरेका थिए । उत्तम गुरुङले प्रहार गरेको बल युनाइटेडका गोलकिपर अजय महर्जनले नियन्त्रणमा राख्न नसकेको स्थितिमा युजिनले गोल गर्दै ह्याटि्रक पूरा गरे ।
– कान्तिपुर