– कृष्ण खनाल
बुटवल ३० बैशाख । नेपाल भ्रमणमा आएको बेलायतको डिभिजन स्तरीय व्यवसायिक फुटवल टिम रिचमण्ड फुटवल क्लबले रुपन्देही ११ सँग मैत्रीपूर्ण फुटवल खेल्ने भएको छ ।
काठमाण्डौमा न्युरोड टिम एनआरटीसँग २-० को नतिजा निकालेको रिचमण्ड क्लबले भोलि शनिबार रुपन्देही ११ सँग मैत्रीपूर्ण फुटवल खेल्ने भएको हो ।
नेपालय र न्यूरोड टिम एनआरटीको संयोजनमा नेपाल आएको सो क्लबले जिल्ला स्तरीय टिमसँग खेल्ने क्रममा रुपन्देही ११ लाई रोजेको हो ।
गएको वर्ष नै तय गरिएको सो मैत्रीपूर्ण फुटवल प्रतिस्पर्धा बेलायत लगायत युरोपियन देशहरुमा ज्वालामुखी विष्फोटले गर्दा स्थगित भएको थियो । रिचमण्डले शनिबार बुटवल १३ देविनगरस्थित फिफा टेक्निकल सेन्टरको खेल मैदानमा प्रतिष्पर्धा गर्ने रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार रिचमण्ड क्लबको रुपन्देही ११ सँग मैत्रीपूर्ण फुटवल हुने र त्यसका लागि सबै तयारी पूरा भैसकेको छ ।
सो प्रतिस्पर्धा हेर्नका लागि सर्वसाधारणका लागि २५ र १ सय रुपैयाँको टिकट तोकिएको छ । बेलायतको फुटवल टोली काठमाण्डौबाट आजै बुटवल आइपुगेको छ ।
रुपन्देही ११ का प्रशिक्षक याम गुरुङले रिचमण्डसग प्रतिस्पर्धा गर्नका लागि टीम पूरै तयारीमा रहेको र टीम फर्ममा रहेको समेत बताउनुभयो । रिचमण्डले काठमाण्डौंमा एनआरटी सहीत अरु २ ए डिभिजन क्लब र पोखराको सहारा क्लबसग समेत खेल्ने कार्यक्रम रहेको छ ।