छ वर्ष बारा रतनपुरी जंगलमा निराहार तपस्या गरिरहेको भनिएका तपस्वी रामबहादुर बमजनले दशौ हजार दर्शनार्थीसामु अष्टशीलको उपदेश दिए


 

बारा –  छ वर्ष बारा रतनपुरी जंगलमा निराहार तपस्या गरिरहेको भनिएका तपस्वी रामबहादुर बमजनले शुक्रवार दशौ हजार दर्शनार्थीसामु महादर्शन कार्यक्रमवीच अष्टशीलको उपदेश दिएका छन्।

बमजनले ब्रम्हाण्ड, मानव तथा प्राणि बनस्पतिहरुको कल्याणको लागि सबैले पालन गरुन् भनी अष्टशीलको उपदेश दिएको बताएका छन् । उनले अष्टशील अन्तर्गत मानवले मानवलाई धर्म, जाति, वर्ण, लिंगको रुपलाई भेदभाव नगर्नु गरी धर्मलाई यो धर्म ठूलो यो धर्म सानो भनी अवहेलना नगर्नु भनेर अष्ठशीलमा राखेका छन् ।

यसैगरी भेदभावपूर्ण दर्शन सिद्धान्त नीति नअपनाउनु, राष्ट्रले यो शत्रु यो मित्र राष्ट्र भनी नसोच्न र भेदभावपूर्ण ब्यवहार नगर्न भनेर अष्टशीलमा राखेका छन् । सत्यलाई असत्य र असत्यलाई सत्य बनाउने दुष्प्रयास नगर्न र बढाई चढाई नगर्नु दश अकुशल कर्म नगर्न अष्ठशीलमा रहेका छन् । 

शिल समाधि र प्रज्ञाको अभ्यास गर्दै राष्ट्रको सेवामा जीवन समर्पित गर्नु र  सम्यक सम्बुद्धत्व प्राप्त गर्नु, आफु र अरुको निम्ति मोक्ष प्राप्त गर्नु उनको अष्ठशीलमा छ । उनले नेपाली भाषामा कवितामय प्रबचन दिंदै आफुले तपस्या गरेको समयमा विभिन्न विध्नबाधा आएको र सबै बाधा पार गरेको बताए । उनले ब्रम्हाण्डको कल्याणको लागि तपस्या गरेको बताए ।

उनले बारम्बार आफुले तपस्याको क्रममा विभिन्न बोधि सत्यहरुसंग साक्षात्कार समेत गरेको बताए । तपस्वी बमजन आफनो तपस्यास्थल हलखोरिया दह नजिकको घना जंगलबाट धर्मसभास्थलसम्म पैदल आएका थिए । बोधि श्रवण धर्म संघ रतनपुरीको  अगुवाईमा उनलाई हजारौ भक्तजनले स्वागतगर्दै धार्मिक वातावरणमा धर्मसभास्थलसम्म ल्याएकाहुन् । उक्त अवसरमा मण्डला प्राण प्रतिष्ठा गरिनुकोसाथै मण्डला अर्पण कार्यक्रम सम्पन्न भएको थियो । २०६२ जेठ २ गते उनले निराहार तपस्या शुरु गरेका थिए । हाल उनलाई भक्तजनहरुले परमपूज्य धर्मसंघज्यू नाम दिएका छन् ।