अस्ताउँदै उदितनारायण झा

           

– सन्तोष रिमाल, नागरिक

– एउटा समय थियो उदितनारायण झाको स्वर नभएका फिल्मी गीत कम सुनिन्थ्यो। निर्माताहरू उनको स्वर भरिएका एल्बम धेरै बिक्ने विश्वास गर्थे। र, रेकर्डिङका लागि मुम्बई पुग्थे। हिजोआज व्यापारको आसमा फिल्मी गीत बनाउने चलन हटेको छ। निर्माता/निर्देशकहरू ‘गीतबिना पनि फिल्म बन्छ’ भन्नेमा विश्वस्त नभएर नै फिल्मी गीतले निरन्तरता पाएको हो। तर, थोरै लगानी र स्थानीय उपलब्धतामै गीत पूरा गर्ने क्रम चलेपछि सर्वाधिक चल्तीका उदितनाराण नेपाली फिल्ममा निकै कम सुनिन थालेका छन्।

बलिउडमै पनि फुर्सदिलो देखिएका उदितको गतिलाई ३० वर्षको ‘एक्सप्रेस’मा ब्रेक लागेको ठान्छन् निर्देशक तुलसी घिमिरे।

प्रकाश थापाका फिल्ममा कमेडी गायक भएर छिरेका उदितलाई पहिलोपटक घिमिरेले गम्भीर गीत गाउन दिए। उनले पहिलो फिल्म ‘बाँसुरी’मा उदितलाई लिएका थिए। गत वर्ष फिल्म ‘देश’मा गीतको स्तर उकास्न उदितलाई खोज्दै मुम्बई पुगे। ‘घरमै संगीतकार रनजीत गजमेर हुनुहुन्थ्यो। उदित र दीपा पनि घरकै सदस्यजस्ता थिए। टाढाको देउताभन्दा करेसाको भूत नै काम लाग्छ भन्ने सोचेर उदितलाई गीत गाउन लगाएका थियौं,’ पहिलो फिल्मको यो मान्यता पूरै फेरे घिमिरेले। त्यसपछिको फिल्म ‘कुसुमे रुमाल’मा गायक मात्र होइन नायक नै बनाए उदितलाई।

‘स्टारिजम’को संस्कृति बनिनसकेको त्यो समयमा उदितलाई हिरो बनाउन धेरै सोचविचार नगरेको घिमिरे बताउँछन्। ‘उदितले फिल्म खेलोस् भन्ने चाहना दीपालाई धेरै थियो। मुम्बईमै योजना बनेको यो फिल्ममा क्षमताभन्दा सहजता हेरेर उनलाई लिएका थियौं,’ फिल्मले भुवनलाई हिरो र उदितलाई गायकका रूपमा नयाँ उचाई दिएजस्तो लाग्छ उनलाई। त्यसपछिका फिल्मी गीतमा उदित अपरिहार्य बन्दै गए। र, करिब साढे दुई दसक एकछत्र राज गरे।

‘कयामतसे कयामत तक’को ‘पापा कहेते हे’ बोलको गीतले उनलाई बलिउड दुनियामा समेत स्थापित गरायो। बलिउडको व्यस्तताबीच पनि नेपाली फिल्ममा समय दिनुलाई उदितको ‘महानता’ मान्छन् घिमिरे। ‘भारतमा एउटा गीतको एक लाख लिएर गाउँदा पनि उनले नेपाली गीत पाँच हजारमै गाइदिए। कतिलाई त सित्तैमा पनि गाइदिएका छन्,’ उनले भने। नेपाल र भारतमा उदाएका नयाँ संगीतकार र गायकले उदितप्रतिको निर्भरता घटाएको ठान्छन् उनी।

फिल्मी गीतमा शम्भुजीत बाँस्कोटाको पनि अत्यधिक रोजाइका गायक हुन् उदित। उदितविना अपूर्णजस्तै हुने शम्भुजीतका गीतमा पनि यो क्रम टुटेको छ। उनी स्वयं पनि संगीतमा पहिलाको जस्तो सक्रिय छैनन्। ‘उदितको स्वर नभई नहुने अवस्था आए मुम्बई जाने गरेको छु। नत्र यतै पनि राम्रा गायक/गायिकाको अभाव छैन,’ स्वरका लागि नभए पनि स्तरीय रेकर्डिङका निम्ति मुम्वई जानुपर्ने आवश्यकता औंल्याउँछन् बाँस्कोटा। संगीत बु