खराब समयबाट गुजि्रएको थ्री-स्टारले राम्रो लय समात्ने प्रयासमा जावलाखेललाई १-० ले पराजित

काठमाडौ  – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सामसुङ जावलाखेलको अपराजित
यात्रा छैटौं चरणमा मेगा थ्री-स्टारले बिहीबार टुंग्याएको छ । चारपल्टको विजेता
एनआरटीको शतप्रतिशत जितमा पनि पूर्णविराम लाग्यो । उसलाई जी फाइभ मच्छिन्द्रले
गोलविहीन स्थितिमा रोक्यो ।

खराब समयबाट गुजि्रएको थ्री-स्टारले राम्रो लय समात्ने प्रयासमा जावलाखेललाई १-०
ले पराजित

गर्‍यो । फरवार्ड बुद्ध चेम्जोङले ५९ औं मिनेटमा गरेको गोल ‘ललितपुर डर्बी’ मा
थ्री-स्टारलाई ३ अंक दिलाउन पर्याप्त रह्यो । ‘अफसाइड ट्रयाप बिट’ गर्दै काउन्टर
एट्याकमा उनले जावलाखेलका गोलकिपर दिनेश थापालाई छक्याएर निर्णायक गोल गरेका थिए ।

थ्री-स्टारका विष्णु गुरुङलाई ‘फल’ प्रहार गरेकाले रेफ्री सुदीश पाण्डेले विशाल
राई ‘बी’ लाई दोस्रो पहेंलो कार्ड (रातो कार्ड) देखाई ८५ औं मिनेटमा मैदानबाहिर
पठाएपछि जावलाखेल दस खेलाडीमा समेटिएको थियो । थ्री-स्टारकै खेलाडीले बल बाहिर
फालेको स्थितिमा उसैलाई ‘थ्रु’ को अवसर दिएपछि रेफ्रीसँग विवाद गर्दा उनले २
मिनेटअघि मात्र पहिलो पहेंलो कार्ड पाएका थिए ।

‘मैले अझै खेलाडीलाई अनुशासनमा राख्न सकिनँ,’ हारपछि जावलाखेलका प्रशिक्षक किशोर
केसीले भने, ‘त्यसैले दुःख लागेको छ । साह्रै चित्त दुखेको छ । गोल खाइयो भन्दैमा
तनावमा आउनुपर्ने थिएन । आफ्नै मूर्खतामा विशालले रातो कार्ड पाएपछि हामीलाई गाह्रो
भयो ।’ आउने खेलमा अनुशासन सुधार्ने उनले बताए ।

पहिलो रोजाइका ४ मिडफिल्डर बिना उत्रिएको थ्री-स्टारलाई हराउने राम्रो मौका
थियो, जावलाखेललाई । ‘बेहोरेको रातो कार्ड र प्राप्त गोलका मौकामा चुक्दा उसलाई
हराउने राम्रो अवसर गुम्यो,’ केसीले भने, ‘थ्री-स्टारको अग्रपंक्ति राम्रो छ र
प्राप्त अवसर उनीहरू हतपत गुमाउँदैनन् ।’

‘जित्नका लागि खेलिन्छ र प्रत्येक जित महत्त्वपूर्ण हुन्छ,’ थ्री-स्टारका
प्रशिक्षक मेघराज केसीले भने, ‘जोसिलो भएकाले जित हात लाग्यो । उत्कृष्ट लयमा रहेको
जावलाखेललाई हराउनु राम्रो हो ।’ जावलाखेलका खेलाडीको व्यवहार (तनावको स्थिति) ले
थ्री-स्टारलाई धेरै फाइदा भएको उनले बताए ।

थ्री-स्टारले केही अवसर सिर्जना गरे पनि गतिलो आक्रमण गर्न सकेन । सरस्वती,
एपीएफ, फ्रेन्ड्स र मच्छिन्द्रलाई हराएको जावलाखेलले ५० औं मिनेटमा गोलको राम्रो
मौका पाएको थियो । अगाडि गोलकिपर किरण चेम्जोङमात्र रहँदा कर्ण लिम्बूले प्रहार
गरेको बल पोस्टनजिकबाट बाहिरिनु जावलाखेलका लागि दुर्भाग्य भयो । यसअघि पहिलो हाफमा
उनले दायाँ खुट्टाले प्रहार गरेको बल किरणले उत्कृष्ट रूपमा विफल तुल्याए ।

चार जित र एक बराबरीसँगै जावलाखेलको आरसीटी र यती हिमालयन शेर्पाको समान १३ अंक
छ । गोल अन्तरका आधारमा जावलाखेल पाँचौं स्थानमा छ । कठिन प्रतिद्वन्द्वीविरुद्ध
हात पारेको जितसँगै दुईपल्टको विजेता थ्री-स्टार १० अंक बनाएर सातौंमा उक्लियो ।
समान अंक भए पनि एक खेल कम खेलेको स्थितिमा बौद्ध आठौंमा छ ।

मच्छिन्द्रसँग गोलरहित खेलेपछि एनआरटीको शतप्रतिशत जित मात्र रोकिएन, उसले शीर्ष
स्थानमा उक्लने अवसर पनि गुमायो । ६ खेलबाट समान १६ अंक जोडे पनि उसलाई गोल अन्तरका
आधारमा पछि पार्दै लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दी शीर्ष स्थानमा छ । शतप्रतिशत
जित हात पार्ने एक्लो पुलिस ५ खेलबाट १५ अंक बनाएर तेस्रोमा छ ।

बि्रगेड ब्वाइज, युनाइटेड, सरस्वती, एपीएफ र फ्रेन्ड्सलाई यसअघि हराएको एनआरटीले
मच्छिन्द्रविरुद्ध ६ पल्ट पोस्ट आक्रमण गरेको थियो । तीन अवसरमा आरोन ब्ल्याकी
कोलले गोल गर्ने सुन्दर मौका चुकाए । खेलले ठीक एक घन्टा छुँदा उनले ‘सिक्स यार्ड
बक्स’ बाट प्रहार गरेको बल गोलकिपर विशाल मगरले नियन्त्रण गर्न नसके पनि गोल
लाइनबाट कुशल श्रेष्ठले क्लियर गर्दै मच्छिन्द्रको संकट टारेका थिए ।

पाँच मिनेटको इन्ज्युरी टाइमको अन्त्यमा राजन अधिकारीले प्रहार गरेको बल पोस्टमा
लागेर फर्कियो । मच्छिन्द्रले ३-३ हार र बराबरी खेल्ने क्रममा उल्लेखयोग्य आक्रमण
गर्न सकेन । तैपनि उसका प्रशिक्षक छिरिङ लोप्साङ सन्तुष्ट रहे । ‘सोचेभन्दा राम्रो
खेले,’ उनले भने, ‘शीर्ष स्थानको होडको क्लबसँग पाएको १ अंकले खेलाडीको हौसला
बढाउँछ ।’

‘प्राप्त अवसरलाई स्ट्राइकरले गोलमा परिणत गर्न नसकेपछि जित्नैपर्ने खेलमा
दुर्भाग्य भयो,’ एनआरटी प्रशिक्षक राजु शाक्यले भने, ‘खेलपूर्व जित्नेमा विश्वस्त

थियौं । तर ३ अंक हात लागेन । उनले आइभरिकोस्टका माइकल मुयवालाई डेब्यु गराएका
थिए । स्ट्राइकरत्रय विष्णु केसी, राजीव गुरुङ र राजन अधिकारीलाई सब्स्िटच्युटका
रूपमा खेलाए पनि उनीहरू एनआरटीलाई ३ अंक दिलाउन असफल रहे ।

हलचोकमा पनि खेल

काठमाडौं-सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातदेखि ११ औं चरणसम्मका दैनिक एक खेल
सशस्त्र प्रहरी बलको

हलचोकस्थित मैदानमा पनि हुने भएको छ । ‘ए’ डिभिजन क्लबका प्रतिनिधि र एन्फाबीच
बिहीबार भएको बैठकले उक्त निर्णय गरेको

हो । त्यस अवधिमा दशरथ रंगशालामा पनि दैनिक २ खेल निरन्तर हुनेछन् ।

फिफा विश्वकप-२०१४ को छनोटअन्तर्गत नेपाल र टिमोर लेस्टीबीच असार १५ र १९ गते
दशरथ रंगशालामा खेल हुने भएकाले असार ११ देखि २० सम्म लिगका सबै प्रतिस्पर्धा
स्थगित गर्ने निर्णय भएको एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठले बताए ।

खेल स्थगित हुँदा क्लबलाई आर्थिक भार पर्ने भएकाले एन्फाले प्रत्येकलाई कम्तीमा
१० हजार रुपैयाँ उपलब्ध गराउनेछ । विश्वकप छनोट खेलमा हुने नाफा लिग खेल्ने सबै
क्लबलाई दामासाहीले बाँडिनेछ । मैदान मर्मतका लागि दशरथ रंगशालामा असार १ देखि १०
गतेसम्म खेल हुने छैन । उक्त अवधिमा निर्धारित १२ र १३ औं चरणका दैनिक दुई खेल
हलचोकमा खेलाइनेछ ।
 
कान्तिपुर