माओवादीद्वारा राजनीतिक सहमति नबनी राजीनामा नदिन प्रधानमन्त्री झलनाथ खनाललाई सुझाब

काठमाडौं  – एकीकृत नेकपा (माओवादी) ले राजनीतिक सहमति नबनी राजीनामा नदिन
प्रधानमन्त्री झलनाथ खनाललाई सुझाब दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको
छलफलमा माओवादी नेताहरुले दलहरुबीच सहमति भएपछि मात्र राजीनामा दिन प्रधानमन्त्री
खनाललाई सुझाब दिएका हुन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले तीन दलबीच सहमति
कार्यान्वयनका बिषयमा दुई दलबीच छलफल भएको उल्लेख गर्दै राष्ट्रिय सहमतिपछि मात्र
प्रधानमन्त्रीले राजीनामा दिन माओवादीले सुझाब दिएको बताए । ‘राष्ट्रिय सहमतिको
सरकार बनाउने न्युनतम आधार बनेपछि प्रधानमन्त्रीले राजीनामा गरी मार्गप्रशस्त गर्ने
छलफल भयो’ उनले कान्तिपुरसंग भने, ‘सहमति नबनी राजीनामा दिनु हुूदैन भन्ने कुरा
उठ्यो ।’ उनले सहमति हुन बित्तिकै प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्ने बताएको
जानकारी दिए ।

कांग्रेसका केही नेताहरुले प्रधानमन्त्रीले तत्काल राजीनामा दिन दबाव दिइरहेको
बेला सत्ता साझेदार ठूलो दलले सहमतिबिना राजीनामा नदिन सुझाब दिएको हो । माओवादी
नेताहरुले सहमति नबन्दै राजीनामा दिए शान्ति र संविधान निर्माणको काममा बाधा पुग्ने
भन्दै कांग्रेसलगायतका दलसंग छलफल गरी सहमति खोज्न जोड दिएका थिए ।

शुक्रबार स्थायी समिति बैठकमा बोल्ने अघिकांश नेताहरुले सकभर यही सरकारलाई
राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने र त्यो संभब नभए माओवादीको नेतृत्वमा राष्ट्रिय
सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिएका थिए ।

माओवादीसंगको बैठकमा एमालेले अघि सारेको चक्रिय प्रणालीमा दुई दलबीच छलफल भएको
हो । श्रोतका अनुसार माओवादी चक्रिय प्रणालीमा सकरात्मक छ । यसअघि उसले चक्रिय
प्रणाली अपनाए सरकार गठनको समस्या समाधान हुने बताउँदै आएको छ । बैठकमा सहभागी
माओवादी स्थायी समिति सदस्य बर्षमान पुनले एमालेको पछिल्लो निर्णय आफ्नो निर्णय
नेताहरुले जानकारी गराएको बताए ।

‘पाँच बुँदे सहमति कार्यान्वयन गर्ने बिषयमा छलफल भयो’ उनले भने, ‘एमालेको
पछिल्लो निर्णय नेताहरुले जानकारी गराए ।’ प्रधानमन्त्रीका सल्लाहकार ज्यालाले
एमालेको पछिल्लो निर्णय माओवादीलाई प्रष्ट पारिएको उल्लेख गरे । ‘हाम्रो निर्णय
उहाहरुले सकरात्मक रुपमा लिएको पाएका छौ’ उनले भने, ‘यसबारेमा अब प्रमुख दलसंग छलफल
हुन्छ ।’ प्रधानमन्त्री खनालले सरकार संचालनको चक्रिय प्रणालीबारे बिहीबार कांग्रेस
नेता सुशील कोइरालालाई भेटी जानकारी गराएका थिए । एमालेले राष्ट्रिय सरकार, शान्ति
र संविधान निर्माण प्रक्रियाबारे तीन महिने समयतालिका बनाएको थियो ।

माओवादी नेताहरुले स्थायी समिति बैठक जारी रहेको भन्दै सरकार, शान्ति प्रक्रिया
र संविधान निर्माणबारे ठोस तालिका बनाउने बताएका थिए । दुबै पार्टीका नेताहरुले
पाँच बुँदे सहमतिपछि दलहरुबीच भएका वार्ता र राजनीतिक अवस्थाको समीक्षा गर्दै
शान्ति, संविधानलाई तीब्रता दिन प्रमुख दलहरुबीच सहमति खोज्नु पनेएमा जोडढ दिएको
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

नेताहरुले सरकारका काम कार्बाहीबारे पनि समीक्षा गरेका थिए । उनीहरुले सरकारका
काम प्रभाबकारी ढंगले अघि बढाउने सहमति समेत गरेका थिए ।

छलफलमा माओवादीको तर्फबाट अध्यक्ष दाहाल, उपाध्यक्ष द्वय बैद्य, भट्टराई
महासचिब रामबहादुर थापा र स्थायी समिति सदस्य पुन र एमालेका तर्फबाट प्रधानमन्त्री
खनाल, बिनाबिभागीय मन्त्री घनश्याम भुसाल, नेता सुरेन्द्र पाण्डे, प्रधानमन्त्रीका
राजनीतिक सल्लाहकार ज्वाला सहभागी थिए ।

माओवादी बैठक स्थगित

images

पाँच बुँदे सहमति कार्यान्वयनका लागि ठोस प्रस्ताव तयार गर्न शनिबार बस्ने
भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । नेताहरुको कार्यव्यवस्थताका कारण बैठक
स्थगित गरिएको माओवादीले जनाएको छ ।

पाँच बुँदे सहमति कार्यान्वयन गर्न नेताहरुको दाहोरो सुरक्षा प्रणाली अन्त्य
गर्ने, सरकार गठनका बिषयमा माओावादीभित्र बिवाद छ । उपाध्यक्ष मोहन बैद्य पक्षले
पाँच बुदे सहमतिप्रति फरक मत राख्दै आएको अवस्थामा शुक्रबारदेखि सुरु भएको बैठकले
सेना समायोजन, राष्ट्रिय सरकार र संविधान निर्माणका बिषयमा ठोस निर्णय गर्ने
नेताहरुले बताएका छन् । बैठक स्थगित गरी नेताहरु एमालेसंग छलफल गर्न प्रधानमन्त्री
निवास बालुवाटार गएका थिए ।

images