विदेशमा रहेको कालोधन फिर्ता र भ्रष्टाचारविरुद्ध कानुनको माग गर्दै अनसनमा रहेका योग गुरु स्वामी रामदेवले अनसन तोडे

देहरादुन, भारत  – विदेशमा रहेको कालोधन फिर्ता र भ्रष्टाचारविरुद्ध
कानुनको माग गर्दै ८ दिनदेखि अनसनमा रहेका योग गुरु स्वामी रामदेवले आइतबार अनसन
तोडेका छन् ।

अध्यात्मिक गुरु श्री श्री रविशंकर र मुरारी बापुको आग्रहमा रामदेवले नवौं दिन
अनसन तोडेका हुन् । अध्यात्मिक गुरु रविशंकरले जुस खुवाएर रामदेवको अनसन तोडाएको
सहयोगी आचार्य बालकृष्णले पुष्टि गरेका छन् ।

अनसन तोडेकोबारे जानकारी दिन देहरादुनस्थित हिमालयन अस्पतालमा चिकित्सक र आचार्य
बालकृष्णले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् । चिकित्सकले रामदेवको
स्वास्थ्य राम्रो भएको जनाएका छन् भने आचार्य बालकृष्णले अनसन तोडे पनि
भ्रष्टाचारविरुद्धको लडाईं जारी रहने बताए ।

राजधानी नयादिल्लीस्थित रामलीला मैदानमा रामदेवले अनसन सुरु गरे पनि सरकारले
हटाएर हरिद्वार पुर्‍याएको थियो । हरिद्वारमा अनसन जारी रहेकाबेला उनी बिरामी भएपछि
उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

रामदेवको स्वास्थ्य बिग्रिएको भन्दै अनसन तोडाउन अखिल भारतीय सन्त समितिका
अध्यात्मिक गुरुद्वय श्री रविशंकर र मुरारी बापु अस्पताल पुगेका थिए । तीन
दिनको प्रयासपछि रामदेवले अनसन तोड्न राजी भएका थिए ।

रामदेवले अनसन तोडेपछि उनका भक्तहरुले नयाँदिल्ली, हरिद्वार, देहरादुनलगायतका
क्षेत्रमा स्वास्थ्य लाभको कामना गर्दै भजन सुरु गरेका छन् ।