
फरवार्ड सन्तोष साहुखलले सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगको ३८ औं संस्करणमा आठौं गोल गरेपछि मनाङको जित सम्भव भयो । उनले नवौं मिनेटमै गरेको गोल मनाङको नवौं जितका लागि पर्याप्त रह्यो । गणेश खड्काको क्रसमा कप्तान टासी छिरिङले हेडद्वारा प्रहार गरेको बल पोस्टमा लागेर फर्केको थियो । त्यही बललाई सन्तोषले निणर्ायक गोलमा परिणत गरेका थिए ।
जितसँगै मनाङले डिफेन्डिङ च्याम्पियन पुलिसलाई पछ्याउने क्रम यथावत् राख्यो । सातौं चरणमा मेगा थ्री-स्टारसँग हारेयता उसले निरन्तर चौथो जित हात पारेको हो । एघारौं चरणको समाप्तिमा एक अंकअघि पुलिस शीर्ष स्थानमा छ । दोस्रोमा रहेको मनाङको खातामा २८ अंक छ ।
उत्कृष्ट लय समातेको सामसुङ जावलाखेल २६ अंकसहित तेस्रोमा छ । समान २५ अंक भए पनि गोल अन्तरका आधारमा चारपल्टको विजेता एनआरटीलाई पछि पार्दै थ्री-स्टार चौथोमा उक्लियो । शीर्ष ५ क्लब चार अंकभित्र भएकाले लिगको उपाधि होड रोमाञ्चक बन्दै गएको छ ।
आठौं हारपछि रेलिगेसनबाट बच्ने स्वयम्भूको लक्ष्य कठिन बनेको प्रशिक्षक विक्रम लामाले बताए, ‘फरवार्ड नहुँदा गाह्रो भइरहेको छ । दुई विदेशी फरवार्ड ल्याएर अर्को खेलमा नतिजा सुधार्ने प्रयास गर्नेछौं ।’ जितविहीन स्वयम्भू ३ बराबरी गर्दै ३ अंक जोडेर पुछारबाट तेस्रोमा छ ।
स्वयम्भूले मनाङविरुद्ध विशेषगरी दोस्रो हाफमा राम्रो प्रदर्शन गरेको थियो । ‘राम्रो खेल्यौं,’ उनले सन्तुष्टि व्यक्त गरे, ‘गोलका प्राप्त थुप्रै मौका उपयोग गर्न सकेनौं । उत्कृष्ट टिम मनाङविरुद्ध यस्तो प्रदर्शन धेरै राम्रो हो ।’ पोस्ट म्याच कन्फ्रेन्समा मनाङका प्रशिक्षक प्रतिनिधि भने अनुपस्थित रहे ।
मनाङका स्टारहरू गोल गर्ने थुप्रै अवसरमा चुकेका थिए । भारतीय क्लब सिलोङ लाजोङका पूर्वस्ट्राइकर अनिल गुरुङले ‘वान भर्सेस वान’ मा ५५ औं मिनेटमा प्रहार गरेको बल स्वयम्भूका गोलकिपर इमानुएलले मुस्किलले बचाएका थिए । इमानुएलले केही उत्कृष्ट बचाव गरेका थिए ।
दशरथ रंगशालामा भएको खेलमा जी फाइभ मच्छिन्द्र र एपीएफले १-१ को बराबरी खेल्दै अंक बाँडे । यी दुई क्लबले गत वर्ष खेल मिलेमतोको आरोपमा चर्को आलोचना बेहोरेका थिए । त्यसबेला राम्रो लयमा रहेको मच्छिन्द्रले नसोचिएको खेल प्रदर्शन गरेपछि एपीएफ ८-० ले विजयी भएको थियो ।
‘गत वर्षको खेलसँग कुनै सम्बन्ध छैन,’ मच्छिन्द्रका सहायक प्रशिक्षक नरोत्तम शाक्यले भने, ‘यसपल्ट प्रयास गरे पनि गोल गर्न सकेनौं । त्यसैमा दुर्भाग्य रह्यो । अब रेलिगेसन टार्न गाह्रो भएको छ ।’ सात अंकसहित मच्छिन्द्र रेलिगेसन क्षेत्रको अन्तिम चार स्थानमा छ । चार अंक बढीमा एपीएफ १२ औंमा छ ।
बराबरीमा रोकिएपछि शीर्ष आठमा रहँदै राष्ट्रिय लिगमा छनोट हुने योजना कठिन भएको एपीएफका सहायक प्रशिक्षक जनकसिंह थारूले बताए ।
प्रदीपको दुई गोल
सब्स्िटच्युट मिडफिल्डर प्रदीप महर्जनको दुई गोल सहयोगमा थ्री-स्टारले एकपक्षीय खेलमा युनाइटेडलाई ४-० ले निराश पार्यो । दुई वर्षअघि खुट्टा भाँच्चिएयता लिगमा फर्केका उनले खेलको ४८ र ६० औं मिनेटमा गोल गरेका थिए । उनी दोस्रो हाफमा विष्णु गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए ।
बुद्ध चेम्जोङले १० औं मिनेटमा गोलको खाता खोलेका थिए । त्यसपछि विकाससिंह क्षेत्रीले २६ औं मिनेटमा गोल गर्दै थ्री-स्टारको अग्रता दोब्बर पारेका थिए । अन्तिम दुई गोल प्रदीपले गरेका हुन् ।
थ्री-स्टार ६९ औं मिनेटमा प्राप्त पेनाल्टीमा पनि चुक्यो । गोलकिपर किरण चेम्जोङले प्रहार गरेको बल क्रसबारमा लागेर बाहिरियो । वान भर्सेस वानमा विषाद गौचनलाई पेनाल्टी क्षेत्रमा गोलकिपर अजयले लडाएपछि रेफ्रीले थ्री-स्टारलाई पेनाल्टीको अवसर दिएका थिए ।



