‘हङकङको प्रदर्शनबाट हौसिएका छौं,’ राजेशले भने, ‘अनुमान गरेभन्दा पनि बढी दर्शक पायौं ।’ फिल्म लाहुरे समुदायको कथामा केन्दि्रत भएकाले विदेशी दर्शकले निकै मन पराएको पनि राजेशले दाबी गरे । इजरायलको राजधानी तेलअभिभमा फिल्मको प्रदर्शनीपछि टोली बेल्जियम र पोर्चुगल जानेछ । यसपछि कुवेत, मलेसिया, कतार, अस्ट्रेलिया लगायतमा फिल्म प्रदर्शनीको योजना रहेको निर्देशक रायमाझीले बताए ।
मुलुकभित्र कतिपय हलमा ५१ दिन मनाउन सफल ‘गोर्खा पल्टन’ राम्रै व्यापार गरेको फिल्ममध्येमा पर्छ । पूर्व इन्डियन आइडल प्रशान्त तामाङले यही फिल्मबाट डेब्यु गरेका हुन् । फिल्ममा उनीसँगै रञ्जिता गुरुङ लगायतको अभिनय छ ।
गाउँमा तामाङ फिल्म
तामाङ फिल्म निर्माता इमानसिंह योञ्जन भखरै सिन्धुपाल्चोकको हि्रस्याङ्गो गाउँबाट फर्केका छन्, तामाङ संस्कृतिका लागि ऐतिहासिक मानिने थलोमा तीनदिने घुम्ती फिल्म महोत्सव सकाएर । पाटी जात्राको अवसरमा भेला भएका तामाङ समुदायमाझ हि्रस्याङ्गो युवा समाजले महोत्सव आयोजना गरेको थियो, सिन्धुपाल्चोक, काभ्रे, दोलखा र रामेछापदेखि भेला भएका तामाङ समुदायले साँझ खुल्ला आकाशमुनि फिल्मको स्वाद चाख्न पाए ।
महोत्सवका लागि सुजन लामाको निर्देशित ‘गोदेवा’ -गोठालो), रामजनकको निर्देशित ‘मोलम’ -आशीर्वाद) र जयनन्द लामाको ‘सेमरी छोरङान’ -मनमा चेतना) छानिएका थिए । ‘जात्राको बेला पारेकाले दर्शकको अभाव भएन,’ कुनै पनि संघसंस्थाको सहयोगबिना नै गरिएको महोत्सवबारे योञ्जनले भने, ‘शिक्षा, चेतना र संस्कृतिपरक फिल्म छानिएका थिए, राति अबेरसम्म बसेर दर्शकले हेरे ।’ तीन हजारभन्दा बढीको सहभागी रहेको उनले दाबी गरे ।
तेजबहादुर लामा, पार्वती मोक्तान लगायतको अभिनय रहेको ‘गोदेवा’ मा रसुवाको तामाङ संस्कृति र अशिक्षाको सन्दर्भ उठाइएको छ भने सुनिल लामा, रजनी लामा, शान्ति लामालगायतको अभिनय रहेको ‘मोलम’ मा गाउँबाट सहर पसेको तामाङ युवकको संघर्ष समेटिएको छ । जयनन्द लामा, रोज मोक्तान, ङमिा पाखि्रनलगायत अभिनित पहिलो तामाङ फिल्म ‘सेमरी छोरङान’ मा भने चेलीबेटी बेचविखन, गरिबी र शिक्षाको सन्दर्भ उठाइएको छ । राष्ट्रिय जनगणनाप्रति चेतना जगाउन महोत्सव गरिएको योञ्जनले बताए ।



