बलिउड नायक सेफअली खान र नायिका करिना कपुरबीचको प्रेमसम्बन्ध समस्यामा

Saif Ali Khan and Kareena Kapoor - Saif Ali Khan at Cafe Med

– एजेन्सी

मुम्बई  – बलिउड नायक सेफअली खान र नायिका करिना कपुरबीचको प्रेमसम्बन्ध
यतिबेला समस्यामा परेको छ । झन्डै चार वर्ष अघिदेखि औपचारिक प्रेमसम्बन्ध राख्दै
आएका उनीहरू छुट्टिन सक्ने अनुमानसहितको समाचार सार्वजनिक भएको छ ।

३० वर्षीया करिना नायक साहिद कपुरसँगको रोमान्टिक सम्बन्धलाई पाखा लगाउँदै
आफूभन्दा १० वर्ष जेठा सेफअलीसँग जोडिएलगत्तै सेफ-करिनाको सम्बन्धले चर्चा पाउन
थालेको थियो । सेफ सन् २००४ मा अनायस नायिका अमृता सिंहसँगको आफ्नो १३ वर्षे लामो
वैवाहिक सम्बन्धलाई विच्छेद गर्दै एकाएक करिनासँग जोडिन पुगेका थिए । उनका दुई
सन्तान अमृतासँगै बस्दै आएका छन् ।

करिना र सेफको सम्बन्ध पनि चिसिँदै गएको र दुईबीच बारम्बार झगडा पर्न थालेको
समाचारले फ्यानहरू दुःखित छन् । व्यस्त बन्दै गएकी करिनाले आफूलाई यथेष्ट समय
नदिएपछि सेफ उनीप्रति रुष्ट हुन थालेको बताईएको छ । ११ वर्षे फिल्मी करिअरमा ६
फिल्म फेयर अवार्ड हात पारेर आफूलाई सफल नायिकाका रूपमा उभ्याईसकेकी करिना अहिले
आफ्नो प्रेमी खानसँगको रियल रोमान्स छाडी बाँकी तीन खानसँगको रिल रोमान्समा व्यस्त
छिन् । उनी ‘रावन’ मा नायक शाहरूख खानसँग, ‘बडिगार्ड’ मा सलमान र रिमा काग्तीको नाम
जुरिनसकेको फिल्ममा आमिरसँग व्यस्त भएकी हुन् । पछिल्लोपटक ‘गोलमाल थ्री’ मा
देखिएकी ‘थ्री इडियट’ करिना पछिल्लो समय विभिन्न विज्ञापनमा समेत व्यस्त देखिन
थालेकी छन् । तर प्रेमी खानकै होम प्रोडक्सन फिल्म ‘एजेन्ट विनोद’ लाई भने उनले समय
दिइरहेकी छैनन् ।

करिनाले समय नदिएर काम ढिला हुन थालेपछि पनि सेफअली उनीसँग बेखुसी हुन थालेको
अनुमान लगाइएको छ ।