
![]()
हैदरावाद – भारतको आन्ध्र प्रदेशमा छुट्टै तेलंगाना राज्यको माग गर्दै विधानसभाका चार मन्त्रीसहित ७४ सांसदले राजीनामा दिएका छन् । राजीनामा दिनेमा कंग्रेसका ३८, तेलगुदेसमका ३६ सांसदले राजीनामा दिएका हुन् । सबै सांसदले विधानसभाका उपसभापति भट्टी विक्रमारमासमक्ष राजीनामापत्र बुझाएका छन् । यसैगरी, विधान परिषद्का सात कंग्रेस सदस्यले पनि राजीनामा दिएका छन् ।

हैदरावादस्थित विधानसभाभवन वरपरका क्षेत्रमा तेलंगाना राज्यको पक्षमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले ‘जय तेलंगाना’ भनेर नारा लगाइरहेका छन् ।

छुट्टै तेलंगानाको विषयलाई लिएर राज्यसभाका दुई कंग्रेस सांसदले पनि राजीनामा दिने घोषणा गरेका छन् । कंग्रेस पार्टीका तर्फबाट तेलंगाना क्षेत्रबाट दुई राज्यसभाका सांसदले राजीनामा दिएपछि केन्द्रीय मन्त्री एस जयपाल रेड्डीले पनि राजीनामा दिन्छन् वा दिँदैनन् भन्ने चर्चा-परिचर्चा चल्न थालेको छ । आइतबार सबै तेलंगानाका सांसद जम्मा भएर रेड्डीलाई राजीनामा दिन दबाब दिएका थिए । भेटमा जयपाल रेड्डीले राजीनामा दिने आश्वासन दिएको सांसद राजगोपाल रेड्डीले बताएका छन् ।
केन्द्र सरकारले तुरुन्त छुट्टै तेलंगाना राज्यको स्थापना गर्नुपर्ने माग राजीनामा दिने सांसदले राखेका छन् । आन्ध्र प्रदेश विधानसभाको कुल दुई सय ९४ सिटमा तेलंगाना क्षेत्रबाट कंग्रेसका ५० र तेलगुदेसमका ३६ सदस्य छन् ।

अहिलेसम्म केवल उपमुख्यमन्त्री दामोदररजा नरसिंहा तथा दुई मन्त्री दान नगेंदर र मुकेश गौड, विधानसभा उपाध्यक्ष भट्टी विक्रमारमा तथा दुई विद्यायक राजीनामा नदिने पक्ष्ामा छन् ।

छुट्टै तेलंगाना राज्यको स्थापनाबाहेक अन्य कुरामा सम्झौता नगर्ने पनि राजीनाामा दिने सांसदले बताएका छन् । छुट्टै राज्यको माग गर्दै राजीनामा नदिने सांसदले जनताको कडा विरोधको सामना गर्नुपर्ने तेलंगाना संयुक्त संघर्ष समिति र तेलंगाना राष्ट्र समितिले चुनौती दिएका छन् । राजीनामा दिने सांसदको सम्मान गरिने पनि समितिले बताएको छ । यसरी मन्त्रीसहित सांसदले भटाभट राजीनामा दिएपछि आन्ध्र प्रदेशमा कंग्रेस सरकार संकटमा परेको छ । आन्ध्र प्रदेशको राजनीतिक स्थिति बिग्रँदै गएमा राष्ट्रपति शासन लगाउन सक्ने अनुमानसमेत गर्न थालिएको छ ।
राजीनामापछि तेलंगानाको विषयमा थप तनाव बढेको छ । सरकारले राजीनामा दिने घोषणा गर्ने मन्त्रीको घरमा सुरक्षा-व्यवस्था कडा पारेको छ । संवेदनशील क्षेत्रमा केन्द्रीय सुरक्षा बललाई तैनाथ गरिएको छ ।




