बारा – बारा कलैया, ४ स्थित इन्टरनेशनल बोर्डिङं स्कुल कक्षा छ मा
अध्ययनरत छात्र १३ बर्षीय रामप्रवेशप्रसाद कुशवाहाको दुई सातादेखि अवस्था अज्ञात
भएको छ ।
बारा महेशपुर ८ निवासी नवलकिशोर कुशवाहाको छोरा रामप्रवेशको अवस्था बिहीबारसम्म
पनि अज्ञात रहेको विद्यालयले जनाएको छ । बेपत्ता रामप्रवेशको खोजतलासका लागि
स्थानीय पत्रकार, मानव अधिकारकर्मी, बालअधिकारकर्मी र प्रहरीसंग विद्यालय प्रशासनले
सहयोगको आग्रह गरेको छ ।
असार ९ गते होस्टलबाट कक्षा कोठामा जाने क्रममा ‘पेन किन्न जान्छु’ भनी
बाहिरिएका उनी हालसम्म सम्पर्कमा नआएको विद्यालय प्रशासनले जनाएको छ । छोराको
अवस्था अज्ञात भए पछि आफूहरु उनको खोजीमा भारतको रक्सौल, आदापुर लगायतको स्थानमा
पुगे पनि फेला पार्न नसकेको बुबा नवलकिशोर बताए ।
‘छोराको खोजीमा दिनरात लागि परेका छौं’ उनले भने, ‘आफूलाई छोराले न अरुले नै
अहिलेसम्म कुनै खबर गरेको छैन ।’ यता रामप्रवेशको खोजी कार्य जारी रहेको जिल्ला
प्रहरी कार्यालय बाराले जनाएको छ ।



