निःसन्तान दम्पतीका लागि भरोसा बन्दै विराटनगरको नोबेल आईभीएफः पाँच वर्षमा १०४ शिशुको जन्म

 

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले सञ्चालनमा ल्याएको आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) सेवा निःसन्तान दम्पतीका लागि वरदान सावित हुँदै गएको छ । अस्पतालले उच्च प्रविधि र विशेषज्ञ चिकित्सकहरूको माध्यमबाट सेवा शुरु गरेको करिव पाँच वर्षको अवधिमा उल्लेख्य सफलता हासिल गरेको छ । नेपाली काँग्रेसका नेता डा. सुनील शर्माद्वारा सञ्चालित यस अस्पतालमा २०७८ साल पुसदेखि आईभीएफ सेन्टर सञ्चालनमा आएको हो । अस्पतालको तथ्याङ्कअनुसार हालसम्म ४२२ दम्पतीले यो सेवा लिइसकेका छन् ।

सेवा लिने ४२२ दम्पतीमध्ये ३४० जनामा भ्रुण स्थानान्तरण गरिएको थियो । जसमध्ये २१६ जनामा गर्भधारण सफल भएको छ, जुन कूल स्थानान्तरणको ६३.५२ प्रतिशत हो । आईभीएफको अन्तिम सफलता स्वस्थ शिशुको जन्मलाई मानिन्छ । यस आधारमा हेर्दा, नोबेल अस्पतालबाट सेवा लिएकामध्ये हालसम्म १०४ दम्पतीले स्वस्थ शिशु प्राप्त गरिसकेका छन् । यो सफलताको दर करिब ५० प्रतिशत रहेको छ । अस्पतालका अनुसार अहिले पनि तीनवटा केसहरू अन्तिम परीक्षण (बिटा–एचसीजी) को पर्खाइमा रहेका छन् ।

नोबेल आईभीएफ केन्द्रकी प्रमुख प्राध्यापक डा. शान्ति सुवेदीकाअनुसार यहाँ विश्वस्तरीय प्रविधिमार्फत उपचार गरिन्छ । अस्पतालले निःसन्तान परामर्श, शुक्राणु विश्लेषण, पुरुष प्रजनन क्षमता परीक्षण, इन्ट्रा युटेरिन इन्सेमिनेसन, अण्डा संकलन, र प्रयोगशालामा भ्रुण तयार गर्ने जस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।

यस्तै, उन्नत प्रविधिअन्तर्गत एकल शुक्रकीटलाई सिधै अण्डाभित्र प्रवेश गराउने ‘इक्सी’, भविष्यका लागि अण्डा वा भ्रुण रोक्का गर्ने र शुक्रकीट फ्रिज गर्ने सुविधा समेत उपलब्ध छ । पुरुषमा शुक्रकीटको अभाव भएमा शल्यक्रियामार्फत शुक्रकीट निकाल्ने विशेष प्रविधि पनि यहाँ प्रयोग गरिँदै आएको डा. सुवेदीले जानकारी दिइन् ।

सामान्यतया आईभीएफ उपचारका लागि एक दम्पतीलाई ३ देखि ४ लाख रुपैयाँसम्म खर्च लाग्ने भएपनि मेडिकल कलेज भएकाले नोबेलले सहुलियत दरमा सेवा प्रदान गर्ने प्रयास गरिरहेको छ । अस्पतालले अमेरिका, डेनमार्क र जापानबाट आयातित अत्याधुनिक उपकरणहरू प्रयोग गरिरहेको छ ।

अस्पताल प्रशासनकाअनुसार आगामी दिनमा राजधानीका ठूला आईभीएफ सेन्टरहरूमा समेत उपलब्ध नभएका विश्वका नवीनतम प्रविधिहरू भित्र्याउने तयारी भइरहेको छ । आधुनिक चिकित्सा पद्धतिको प्रयोगले गर्दा समाजमा निःसन्तान हुनुलाई भाग्यको दोष मान्ने पुरातन सोचमा परिवर्तन आएको र यसलाई चिकित्सकीय समस्याका रूपमा बुझ्न थालिएको अस्पतालको निष्कर्ष छ ।

 

 

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु