ह्यारी पोर्टर एन्ड द डेथ्ली हलोजकी अभिनेत्री एम्माले पहिलोपटक आफू वास्तविक अभिनेत्री भएको महसुस

     

लन्डन  – अभिनेत्री एम्मा वाट्सनले आफूलाई बल्ल ‘कलाकार
जस्तो’ महसुस भएको बताएकी छन् । ह्यारी पोर्टरको पछिल्लो शृंखलामा अभिनय गरिसकेपछि
उनले त्यस्तो महसुस गरेकी हुन् । ‘ह्यारी पोर्टर एन्ड द डेथ्ली हलोज’की अभिनेत्री
एम्माले फिल्म सकिएपछि पहिलोपटक आफू ‘वास्तविक अभिनेत्री’ बनेको महसुस गरेको बताएकी
हुन् । फिल्म सकिएपछि जेके रोलिङको किताब र सहअभिनेता डेनियल र्‍याक्लिफ र रुपर्ट
गि्रन्टसँग भने तत्कालका लागि उनको साथ छुटेको छ ।

ह्यारी पोर्टर शृंखलामा पहिलो पटक ११ वर्षे उमेरमा हेर्मोनी ग्रेन्गरको भूमिकामा
देखिएकी एम्मा अहिले २१ वर्ष पुगिसकेकी छन् । यसअघि जेके रोलिङको कथामा आधारित
फिल्ममा अभिनय गर्दा उनले आफूलाई वास्तविक रूपमा अभिनेत्री बनेको महसुस नगरेको
बताएकी छन् । ‘ह्यारी पोर्टर एन्ड द डेथ्ली हलोज’ भाग २ को भर्खरै पि्रमियर शो भएको
छ । ‘यो फिल्म हेरेपछि १० वर्षमा मैले वास्तवमै केही कुरा सिकेकी रहेछु भन्ने
लागेको छ,’ शोपछि उनको प्रतिक्रिया थियो ।

‘जीवनमा पहिलोपटक अभिनेत्रीजस्तो महसुस गरिरहेकी छु र एउटा अभिनेत्री कस्तो
हुन्छ भन्ने ज्ञान पाएकी छु, जसले मलाई धेरै उत्साहित बनाएको छ,’ उनले भनेकी छन्,
‘मैले जनावर, स्पेसल इफेक्ट र केही खतरनाक द्वन्द्वमा अभिनय गरेकी छु । संसारका
सबैभन्दा राम्रा केही अभिनेता र अभिनेत्रीसँग काम गर्ने मौका पाएकी छु । मेरा लागि
त्योभन्दा राम्रो प्रशिक्षण अर्को हुन सक्दैन ।’

अभिनय यात्राको १० वर्षमा उनले सबैभन्दा कठिन र हार्डकोर फिल्म स्कुलबाट
ग्रयाजुएट गरेजस्तै लागेको उनले जनाएकी छन् । ‘म कति भाग्यमानी रहेछु भन्ने
विश्वासै गर्न सक्तिनँ,’ उनले भनेकी छन्, ‘मैले जे सिकें त्यसलाई प्रयोग गर्ने
महत्त्वाकांक्षा अहिले ममा पलाएको छ ।’ उनले सानी केटीका रूपमा ह्यारी पोर्टर
शृंखलामा आफूलाई देख्दा अहिले अर्कै मानिसजस्तो लाग्ने बताएकी छन् । ‘तर, मलाई थाहा
छ त्यो सानी केटी म नै हुँ,’ उनले भनेकी छन्, ‘सानी केटीबाट आफूमा देखिएको परिवर्तन
र विकास देख्दा अहिले मलाई कस्तोकस्तो लाग्छ ।’

उनले आफूमा आएको परिवर्तन हेर्दा रमाइलो लाग्ने बताइन् । ‘समय धेरै बितेको छ र
धेरै घटना घटिसकेका छन्,’ उनले भनिन्, ‘अहिले ती फिल्म हेर्दा आफैंलाई नचिनेजस्तो
लाग्छ ।’ ‘ह्यारी पोर्टर एन्ड द डेथ्ली हलोज-२’ जुलाई १५ मा रिलिज हुँदै छ ।

– एजेन्सी