आदिकवि भानुभक्तको जन्मथलोमा सङ्ग्रहालय निर्माण गरिने प्रधानमन्त्रीको भनाइ

काठमाडौ  – प्रधानमन्त्री झलनाथ खनालले आदिकवि भानुभक्तले नेपाली
भाषालाई काव्य स्तरमा पुरयाई भाषालाई समुन्नत पार्ने काम प्रशंसनीय रहेको बताएका
छन् ।

१ सय अठानब्बेऔँ भानुजयन्तीका अवसरमा भानु प्रतिष्ठान काठमाडौँद्वारा बुधबार
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्याक्रमा सभालाई सम्बोधन गर्दै उनले भानुभक्त
रचित रामायणको लाखौँ प्रति प्रकाशन भएबाट उनका कृति को लोकप्रिय पुष्टि भएको बताए

नेपाली समाजमा नेपाल र नेपालीबीच भावनात्मक एकता निर्माणका लागि आदिकवि
भानुभक्तले पुर्‍याएको योगदान उच्च रहेको चर्चा गर्दै प्रधानमन्त्री खनालले नेपाली
भाषाको माध्यमबाट समाजमा चेतना फैलाउने काम भानुभक्तले गरेको स्मरण गरे ।

प्रधानमन्त्री खनालले भानुभक्तको जन्मजलो तनहुँको चुँदी रम्घामा राष्ट्रियस्तरको
सङ्ग्रहालय स्थापना र २०७० सालमा मनाइने भानुको द्विसतवार्षिकी विशेष समारोहका लागि
आवश्यक आर्थिक सहयोग पुर्‍याउन सरकार तत्पर रहेको बताए ।

यस्तै प्रधानमन्त्री खनालले भानुजयन्तीका अवसरमा रथारोहण गराइएका
साहित्यकारद्वय कवि एवम् समालोचक आनन्ददेव भट्ट र कवयित्री तोया गुरुङलाई दोसल्ला
ओढाई सम्मान गरे । रासस