एउटै नक्कली नम्बर भएका नोटको कारोवार गर्ने युवा पक्राउ

बागलुङ  – एउटै नक्कली नम्बर भएका नोटको कारोवार गर्ने यहाँका एक
युवालाइ प्रहरीले पक्राउ गरेको छ ।

बुर्तिवाङ बजारमा नक्कली नोटले सामान किन्दै गरेको समयमा रुकुमकोट घर बताउने
ज्योतीप्रसाद पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

पुनले कारोबार गरेका पाँचसय रुपैयाका ७९ वटा नोटमा एउटै नम्बर भेटिएको प्रहरीले
बताएको छ । उनले प्रयोग गरेको सबै नोटमा १६४२९९ को नम्बर लेखिएको पाइएको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक बीरबहादुर पुलामीका अनुसार
गस्तीमा हिडेका प्रहरीले पुनलाइ बजारमा सामान किन्दै गर्दा भेटिएको थियो ।

प्रहरी देख्नासाथ अत्तालिएपछि सोधपुछ गर्दा उनको साथबाट नक्कली नोट भेटिएको हो ।
शहरी क्षेत्रमा नक्कली नोट कारोबार गर्दा पक्राउ पर्ने आशंकामा ग्रामीण बजारमा गएर
उनले कारोवार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रनाउ उमाप्रसाद
चर्तुवेदीले बताए ।

प्रहरीले केही समय यता ग्रामीण क्षेत्रमा पनि प्रहरी गस्ती गर्न थालेपछि अवैध
क्रियाकलाप गर्ने तथा लागू औषध र नक्कली नोट ओसार पसार गर्ने गिरोह हरु पक्राउ पर्न
थालेका छन् ।

पक्राउ परेका पुनबाट प्रहरीले ६८ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका
पुनलाइ प्रहरीले जिल्ला प्रहरी कार्यालयमा झिकाएर थप अनुसन्धान गर्ने चर्तुवेदीले
बताए ।

पुनसँगै अन्य गिरोह पनि हुन सक्ने भएकोले प्रहरीले थप अनुसन्धान गर्न लागेको हो