भानु-३ चुँदी रम्घास्थित आदिकवि भानुभक्त आचार्यको घरको भग्नावशेष ।तस्विरः पूर्ण विके
-पूर्ण विके
तनहुँ – भानु-३ चुँदी रम्घास्थित नेपाली साहित्यका आदिकवि भानुभक्त
आचार्य जन्मिएको घर संरक्षण नहुँदा भग्नावशेष मात्रै बाँकी छ ।
सांस्कृतिक धरोहरका रूपमा राज्यले संरक्षण गर्नुपर्ने भए पनि बेवास्ता गरिएपछि
घर ढलेर भग्नावशेष मात्र बाँकी रहेको हो । २०५५ मा भानु जन्मस्थल विकास समितिको
पहलमा ‘आदिकवि भानुभक्त’ चलचित्र निर्माण गर्दा करिब १ लाख २९ हजार रुपैयाँ खर्चिएर
भानुको घर पुनर्निर्माण गरिएको थियो । तर उक्त घर २०६१ जेठ महिनामा वनमा लागेको
आगलागीले पूर्ण रूपमा क्षति पुर्याएको थियो । उक्त घर भानु सामुदायिक वन उपभोक्ता
समितिको हाताभित्र पर्छ ।
समितिका कार्यकारी निर्देशक नविनराज दाहालले सरकारले भानुभक्तको भग्नावशेष घरको
पुनर्निर्माण गर्न कुनै पहल नगरेको बताए । ‘घर पुनर्निर्माणका लागि विभिन्न
मन्त्रालयमा धेरै पटक धायौं’ राज्यले भानुभक्तको घर पुनर्निर्माण नगर्नु नेपाली
साहित्यको चरम उपेक्षा भएको बताउँदै दाहालले भने, ‘सरकारको सहयोग नजुट्दा अन्योलमा
परेका छौं ।’ असार २९ गते भानुको १९७ औं जयन्ती हो ।
दाहालले भानुभक्तको भग्नावशेष घर र अन्य करिब १०/१२ भानुभक्तकालीन घरहरू बनाएर
उक्त क्षेत्रलाई भानुग्रामका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए । उनले उक्त
क्षेत्रमा भानुभक्त कालीन घरहरू, फूल तथा फलफूलका बगैंचा, चौतारा, भ्यु टावर,
ढुङ्गाले चिठेर बनाइएका बाटोहरू र करिब ४०/५० जनालाई सजिलै राख्न सकिने होमस्टेको
व्यवस्था गर्न सकिने बताए । दाहालले सबै संरचना निर्माणका लागि करोडौं रुपैयाँ
लाग्ने र करिब ५० रोपनी क्षेत्रफल आवश्यक पर्ने बताए ।
पृथ्वी राजमार्गको डुम्रेबाट करिब १२ किलोमिटर उत्तरमा रहेको भानुभक्तको घरको
सबै गाह्रो भत्किएको छ भने भित्र विभिन्न प्रजातिका झारले ढाकेको छ । घरमा प्रयोग
भएका काठका झ्याल ढोकामध्ये केही डढेलोले खाएको छ । केही झ्यालढोका समितिको
कार्यालयमा राखिएको दाहालले बताए । उक्त घर अहिले भानु सामुदायिक वनको स्वामित्वमा
रहेको छ ।
दाहालले लाजिम्पाट घर भएका पर्यटन व्यवसायी आरके शाक्यले करिब ६ लाख रुपैयाँ
खर्चिएर घर बनाइदिने वचन दिए पनि उनी अहिले सम्पर्कविहीन भएको बताए । ‘करिब डेड
वर्ष पहिला शाक्यले घर बनाइदिन्छौं भन्नुभएको थियो । तर अहिले शाक्य सम्पर्कमै आउनु
भएको छैन’ दाहालले भने । दाहालले भानुभक्तले प्रयोग गरेका खराउ, अंखरा, मधुस,
खाटलगायतका सामग्री भानु जन्मस्थल विकास समितिको कार्यालयमा संरक्षण गरी राखिएको
बताए । भानु जन्मस्थल विकास समितिलाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्न चैत
२८ गतेदेखि ५ दिनसम्म भानु महोत्सवको समेत आयोजना गरिएको थियो ।



