भर्खरै मात्र गायिका तथा नायिका जेनिफर लोपेजको वैवाहिक सम्बन्ध विच्छेद भएको छ ।
झन्डै सात वर्षदेखिको अभिनेता तथा संगीतकार मार्क एन्थोनीसँगको वैवाहिक सम्बन्ध
टुंगिएको हो । सम्बन्धविच्छेद गर्ने निर्णयलाई उक्त जोडीले ‘सुझबुझको निर्णय’ भनेको
छ ।
‘हामीले हाम्रो बैवाहिक जीवनलाई अन्त्य गर्ने निर्णय गर्यौं, तर यसो गर्न एकदम
कठिन भयो,’ उनीहरूले संयुक्त रूपमा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ,
‘अन्त्यमा हामीले सुझबुझको निर्णय लिन सक्यौं । अबको समय निश्चय नै कठिन छ तर पनि
हामीले एकअर्कासँग बिताएका अन्तर व्यैयक्तिक सम्बन्धको सधैं सम्मान गर्ने नै छौं ।’
उक्त सम्बन्धविच्छेद जेनिफरका हकमा तेस्रो हो भने मार्कका लागि दोस्रो ।
मार्कसँग सन् २००४ को मध्यमा विवाह गर्नुअघि जेनिफरले ओजानी नोआसँग झन्डै वर्ष
दिनको वैवाहिक जीवनपछि ब्याकअप डान्सर क्रिस ज्युडसँग नौमहिने वैवाहिक सम्बन्ध
गाँसेकी
थिइन् । वैवाहिक सम्बन्धभन्दा प्रेम सम्बन्ध दिगो रहेको इतिहास भएकी जेनिफरले १५
वर्षकै उमेरदेखि स्कुलेसाथी डेभिड क्रुजसँग डेटिङ सुरु गरिसकेकी थिइन् । क्रुजसँग
झन्डै एक दशक सँगै बिताएकी जेनिफर त्यसपछि पनि क्रुजलाई आफूलाई सबैले भन्दा बुझ्ने
व्यक्ति मान्दै आएकी छन् । सन् २००२ तिर छोटो समयका लागि भए पनि बेन एफ्लेकसँगको
उनको डेटले राम्रै मिडिया चर्चा कमाएको थियो । उक्त जोडीलाई ‘बेनिफर’को संज्ञा
दिइन्थ्यो ।
मार्कले पनि पूर्वमिस युनिभर्स डायनरा टोरेससँगको चारवर्षे वैवाहिक जीवन
टुंग्याएको चार दिनपछि नै जेनिफरसँग वैवाहिक सम्बन्ध गाँस्न भ्याएका थिए ।
यो जोडीले सन् २००८ मा जुम्ल्याहा बच्चा जन्माउँदा एक अनलाइन पत्रिकाले उनीहरूको
पहिलो फोटोसुटका लागि ६ मिलियन डलर खर्चेको थियो ।
४१ वषर्ीया जेनिफरले एक वर्षले जेठा संगीतकार/गायक मार्कसँग ९० को दशकको
अन्त्यदेखि नै डेटिङ मात्रै थालेकी थिइनन्, सँगै सांगीतिक यात्रा पनि थालेका थिए ।





