
मुम्बई – आफ्ना समकक्षीको भलो नचिताउने र पाएमा खुट्टो
तान्ने प्रवृत्ति कला क्षेत्रको विशेषता नै बनिसकेको छ । तर बलिउडमा किङ खानका
उपनामले चिनिने नायक शाहरुख खान भने उक्त मामिलामा अपवाद हुन् । सबैसँग मित्रवत्
व्यवहार गर्ने ठूला हृदयका शाहरुखले यसपालि फेरि सहकर्मी साथीलाई महगो कोसेली दिएर
प्रशंसित बनेका छन् ।
महत्त्वाकांक्षी बिग बजेटको फिल्म ‘रा.वन’ मा सुपर हिरो रहेका शाहरुखले नायिका
पि्रयंका चोपडा र नायक सञ्जय दत्तलाई महँगो उपहारले धन्यवाद दिएका छन् । विशेष
भूमिकाका लागि प्रस्ताव गरिएका पि्रयंका र सञ्जय दुवैले बिनाहिच्किचाहट तत्काल काम
गरिदिएपछि दंग परेका किङ खानले नायक दत्तलाई १५ लाख भारतीय रुपैयाँभन्दा बढी पर्ने
रेसिङ बाइक उपहार स्वरूप दिएका छन् भने पि्रयंकालाई पनि उनको जन्मदिनको उपहार
स्वरूप एक एकस्टिक गितार दिए ।
फिल्म ‘अग्निपथ’ को सुटिङमा व्यस्त रहेकै बेला शाहरुख र ‘रा.वन’ निर्देशक अनुभव
सिन्हाले पि्रयंका र सञ्जयलाई लिने निर्णय गरेका थिए । दुईको निर्णयमा ‘अग्निपथ’
निर्माता करन जोहरले पनि आफ्नो कामै रोकेर तीन दिनका लागि शाहरुखलाई सञ्जय र
पि्रयंका सुम्पेका थिए । शाहरुखलाई करण दाजु समान मान्छन् ।
‘अग्निपथ’ मा सञ्जयको लुक्सबाट प्रभावित शाहरुखले आफ्नो फिल्ममा सोही गेटअपलाई
दोहोर्याएका छन् । मसलदार शरीरमा देखिएका सञ्जयको काम हेरेपछि शाहरुख झन् उत्साहित
बनेका थिए । खुसी व्यक्त गर्ने क्रममा सामाजिक सन्जालमा उनले लेखे, ‘तीन दिनको
उत्साहजनक सुटिङ । मेरो आत्मैदेखि धन्यवाद छ, सञ्जय र पि्रयंकालाई, जसले यति गजबले
काम दिए ।’
उता सहकर्मीको हित चिताउने ‘माई नेम इज खान’ शाहरुखले मंगलबार मुम्बई एयरपोर्टमा
झमेला बेहोरेका छन् । उनलाई मापदण्ड बढी लगेज ल्याएको भन्दै एयरपोर्ट कर्मचारीले
रोकिदिएका हुन् । इंग्ल्यान्ड र हल्यान्डमा छुट्टी मनाएर स्वदेश फिरेका शाहरुखका
साथमा २० भन्दा बढी लगेज भएपछि कर्मचारीले साढे एक लाख रुपैयाँ शुल्क तिराएर मात्रै
सामान ल्याउन दिएका थिए ।
– एजेन्सी




