साउथ साइडर्स मोर्गन कप १० औं पुरुष तथा नवौं महिला बास्केटबलको पुरुषतर्फ मंगलबार क्वाटरफाइनलमा प्रवेश

काठमाडौ  – साउथ साइडर्स मोर्गन कप १० औं पुरुष तथा नवौं महिला
बास्केटबलको पुरुषतर्फ मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘बी’ विजेता बनेको साउथ साइडर्सले लगतार जित हात पार्ने क्रममा भीएस
निकेतनमाथि ९८-४६ को सहज जित दर्ता गर्‍यो । यस्तै, मोर्गन समूह ‘सी’ विजेताको
रूपमा अन्तिम आठमा पुग्न सफल रह्यो ।

पहिलो खेलमा जेभियरलाई हराएको साउथ साइडर्सले पहिलो क्वाटरमा नै ३२-८ को फराकिलो
अग्रता लियो र भीएस निकेतनमाथि दबाब सिर्जना गर्‍यो । उसले बाँकी तीन क्वाटरमा पनि
आफ्नो बर्चस्व कायमै राख्यो । दोस्रोमा २०-१० ले अघि रहेको साउथ साइडर्स तेस्रोमा
१८-६ र चौथोमा २८-२२ ले अघि रह्यो ।

विजयी टिमका सञ्जय व्यञ्जनकारले सर्वाधिक ३३ स्कोर गरे । समूह चरणमा भीएस
निकेतनमाथि जित हात पारेको जेभियर इन्टरनेसनल पनि उपविजेताका रूपमा अन्तिम आठमा
पुग्न सफल भयो । भीएसले भने कुनै पनि खेलमा जित हात पारेन ।

समूह ‘सी’ विजेता मोर्गनले नेसनल क्याम्पसलाई ६८-६३ ले निराश पार्‍यो । पहिलो र
दोस्रो क्वाटरमा १६-१३ र २०-१० को अग्रता लिँदै राष्ट्रिय खेलकुद परिषद् कबर्डहलमा
भएको खेलमा मोर्गनले जितको आधार तयार पार्‍यो । तेस्रो क्वाटरमा दुवै टिमले १७-१७
को बराबरीमा खेले । चौथो क्वाटरमा नेसनल २३-१५ ले अघि रहे पनि पर्याप्त रहेन ।
मोर्गनका सौरभ श्रेष्ठले २० स्कोर गरे ।

समूह चरणको दुवै खेलमा हार बेहोरेको नेशनल प्रतियोगिताबाट बाहिरियो भने एक खेलमा
सफलता पाएको भनिमण्डल समूह उपविजेताका रूपमा नकआउट चरणमा पुग्यो ।

दुईपल्टको विजेता गोल्डेन गेटका लागि भने मंगलबार सुखद रहन सकेन । समूह ‘डी’ को
खेलमा उसलाई पि्रमियर कलेजले रोमाञ्चक खेलमा ८४-७५ ले हरायो । निर्धारित चार
क्वाटरमा दुवै टिम ६२-६२ स्कोरको स्थितिमा रहेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
त्यसमा पि्रमियर २२-१३ ले अघि रह्यो पहिलो क्वाटर गोल्डेन गेटले २१-१३ ले आफ्नो
पक्षमा पार्‍यो तर दोस्रोमा पि्रमियर खेलमा र्फकंदै २१-१४ को नतिजा निकाल्यो ।
तेस्रोमा फेरि गोल्डेन गेट अघि रह्यो । उसले क्वाटर १४-१३ ले आफ्नो पक्षमा पार्‍यो
तर पि्रमियरले चौथो क्वाटर १५-१३ ले आफ्नो पक्षमा पार्दै खेल बराबरीमा पुर्‍यायो ।
थप समयमा भने पि्रमियर अघि रह्यो । विजयी टिमका सदिस प्रधानले २९ स्कोर गरे ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिलामा पनि मोर्गनले सफलता
पायो । राउन्डरोविन लिगमा उसले जेभियर इन्टरनेसनललाई ३५-२४ ले निराश पार्‍यो
। पहिलो र दोस्रोमा मोर्गन ९-३ र १०-४ ले अघि थियो । तेस्रोमा दुवैले ८-८ को
बराबरी खेले । चौथोमा जेभियर ९-८ को झिनो अन्तरले अघि रहे पनि जित हात पार्न सकेन ।
मोर्गनकी मृनालिनी श्रेष्ठले ११ अंक बटुलिन् । प्रतियोगिताका बुधबारदेखि तीन दिनका
खेल मोर्गन इन्टरनेसनल कलेजको कोर्ट धापासीमा हुनेछन् ।