लाहोर, पाकिस्तान – पाकिस्तानका पूर्व क्रिकेट खेलाडी एजाज अहमदले देशको क्रिकेटको स्तर खस्कदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। ‘पाकिस्तानी क्रिकेटको स्थिति पहिले जस्तो छैन। हाम्रो क्रिकेट दिनदिनै ओरालो लाग्दै छ,’ पाकिस्तानको एक निजी टेलिभिजन च्यानलसँग कुरा गर्दै अहमदले भने।
‘कुनै बेला पाकिस्तानको क्रिकेट विश्वमा आफ्नै पहिचान थियो। त्यतिबेला हाम्रो टिममा विश्वस्तरिय खेलाडी हुने गर्थे,’ हनिफ मोहम्मद, जहिर अब्बास देखि इमरान खान र वसिम अक्रमसम्मको समयमा पाकिस्तानी टिमको आफ्नै पहिचान भएको उनले बताउँदै उनले भने।
त्यतिबेला पाकिस्तानी टिममा केही विश्वस्तरिय बलर र ब्याट्सम्यान भएको उनले बताए।
उनले पाकिस्तानी क्रिकेट ओरालो लाग्नुमा विदेशी टिम खेल्न नआउनु, खेलाडी भ्रष्टाचारमा पर्नु र बिवाद मुख्य कारण रहेको बताए।
‘सुरक्षालाई कारण दखाउदै विदेशी टिम पाकिस्तानमा खेल्न नआएको धेरै भइसक्यो। त्यसका कारण पाकिस्तानले आफ्नो घरेलु श्रृङ्खला पनि विदेशी मैदानमा खेल्नु परेको छ। त्यसले गर्दा खेलाडीले घरेलु मैदानमा आफ्ना दर्शक सामु खेल्ने अवसर पाएका छैनन्,’ उनले भने।
स्पट फिक्सिङ र टिम भित्रको बिवादका कारण पनि पाकिस्तानी टिमको प्रदर्शन कमजोर भएको उनले बताए।
क्रिकेटमा देखा पर्दै आएका विकृतिहरूले पाकिस्तानी टिमलाई पनि छोपेको हुनाले त्यसको प्रत्यक्ष असर टिममा परेको उनको धारणा थियो।
-एजेन्सी



