बि्रटिस गायिका एमी वाइनहाउसको कुलतकै कारण निधन

लन्डन    – नशाले लट्ठिएको जस्तो स्वर, गाजलले ढाकिएका आँखा र
मौरीको चाका शैलीको चुलिएको चुल्ठो । बि्रटिस गायिका एमी वाइनहाउसले शनिबार बेलुका
२७ वर्षको अल्पायुमै चोला छोडेको पुष्टि भएपछि उनका उल्लिखित विशेषता पनि हराएर
गएका छन् । प्रहरीले उनलाई मृत अवस्थामा फेला पारेको हो ।

एमीले आठ वर्षको सांगीतिक करिअरमा जति अग्लो उचाइ नापिन्, दुव्र्यसनका कारण
पछिल्लो समय उत्तिकै विवादमा पनि तानिइरहिन् । पछिल्लो समय पुनःस्थापना केन्द्रमा
उपचाररत उनको निधन कुलतकै कारण भएको अनुमान गरिएको छ । एक महिनाअघि मात्रै युरोपियन
टुरका लागि सर्बियामा गाउने क्रममा गीतै बिर्सिएर समस्यामा परेकी गायिकाले त्यसपछि
टुर नै रद्द गरेकी थिइन् । उनी करिब २० हजार श्रोतासामु मातेर खुट्टै टेक्न नसक्ने
अवस्थामा प्रस्तुत भएकी थिइन् । लागू औषधको अम्मलबाट नबचे ज्यानै जानसक्ने
चिकित्सकहरूको बारम्बारको चेतावनीलाई उनले लत्याउँदै आएकी थिइन् ।

ट्याक्सी ड्राइभर बुबाबाटै गुनगुनाउन सिकेकी एमीलाई कक्षामा चुप लगाउन शिक्षकलाई
हम्मेहम्मे पथ्र्यो । उनी १० वर्षकै उमेरमा र्‍याप ब्यान्डमा आबद्ध भइसकेकी थिइन् ।
सन् २००३ मा पहिलो एल्बम ‘फ्रयांक’ साथ देखिएकी उनलाई चर्चा भने त्यसको तीन वर्षपछि
आएको दोस्रो एल्बम ‘ब्याक टु ब्ल्याक’ ले दिलायो ।

बेलायती सांगीतिक क्षेत्रमा अहिलेसम्मकै सर्वाधिक बिक्री सूचीको १८ औं स्थानमा
पर्न सफल ‘ब्याक टु ब्ल्याक’ ले नै उनलाई पहिलो ग्रामी अवार्ड दिलाएको थियो । उक्त
एल्बमकै दोस्रो संस्करणमा थपिएको गीत ‘रिहाब’ ले त उनलाई तीन ग्रामी अवार्डकै हकदार
बनाइदियो । पाँच ग्रामी अवार्ड जितेकी एमीले अन्य थुप्रै शीर्षकका अवार्डमा पनि
वर्चस्व जमाएकी थिइन् ।

सन् २००७ मा ब्लेक फिल्डर सिभिलसँग विवाह गरेपछि एमी कोकिन र हिरोइनको
दुव्र्यसनमा फस्दै गएकी थिइन् । कुनै समय आफ्नो पुरा वैवाहिक जीवन नै ड्रग्स लिनमा
बित्ने टिप्पणी गरेकी एमी ब्लेकसँगको डिभोर्सपछि जीवनको अन्तिम समय निर्देशक रेग
ट्राभिससँग डेटिङमा थिइन् । दुव्र्यसनका कारण सन् २००८ देखि नै उनको फोक्सो
क्यान्सरले बिग्रँदै गएको थियो । पछिल्लो समय अस्तव्यस्त देखिन थालेकी उनलाई
‘सर्वाधिक खराब फेसन गर्ने’ महिलाको सूचीमा समेत पारिएको थियो ।

एमीको निधनमा उनका सहकर्मी, आफन्तहरूले गहिरो दुःख व्यक्त गरेका

छन् । गायिका केटी पेरीले ट्वीटरमार्फत ‘सायद, अन्त्यमा उनले शान्ति पाइन्’
भनेकी छन् भने अर्की गायिका रिहानाले भनेकी छन्, ‘दुःखद खबरले मेरो हृदय छियाछिया
पारेको छ । हे भगवान्, कति छोटो जीवन ।’

– एजेन्सी