गोल्डेनगेट र प्रिमियर मोर्गन कप नवौं महिला तथा दसौं पुरुष राष्ट्रिय बास्केटबलको पुरुषतर्फको फाइनल

काठमाडौ  – गोल्डेनगेट र प्रिमियर मोर्गन कप नवौं महिला तथा दसौं
पुरुष राष्ट्रिय बास्केटबलको पुरुषतर्फको फाइनलमा मंगलबार भिड्दै छन् ।
गोल्डेनगेटले डिफेन्डिङ च्याम्पियन नासालाई सेमिफाइनलमा ८४-६३ ले निराश पार्दै
फाइनल यात्रा तय गर्‍यो र गत वर्ष उपाधि भिडन्तमा ब्यहोरेको हारको बदलासमेत लियो ।
गोल्डेनगेटका विपेन्द्र महर्जनले २१ स्कोर गरे ।

गोल्डेनगेटले सुरुको दुई क्वाटरमा अग्रता लिंदै जितको आधार तय गर्‍यो ।
गोल्डेनगेटले पहिलो २१-११ र दोस्रो क्वाटर २६-११ ले आफ्नो पक्षमा पार्‍यो ।
त्यसपछिका दुवै क्वाटर नासाको नाममा रहे । नासाले तेस्रोमा २१-१८ र चौथोमा २०-१९ को
सामान्य अग्रता हासिल गरे पनि हार टार्न सकेन ।

अर्को सेमिफाइनलमा पि्रमियरले नवोदित सामाखुसीमाथि ७६-४२ को जित दर्ता गर्दै
फाइनल यात्रा तय गर्‍यो । पि्रमियरका सदिश प्रधानले २० स्कोर गरे । पि्रमियरले चारै
क्वाटर आफ्नो पक्षमा

पार्‍यो । पि्रमियरले पहिलो १७-१२, दोस्रो २३-८, तेस्रो २२-१० र चौथोमा १४-१२
स्कोरले अग्रता लिएको हो । क्वाटरफाइनलमा मोर्गनमाथि रोमाञ्चक जित हात पारेको
नवोदितले सेमिफाइनलमा त्यसलाई कायम राख्न सकेन ।

महिलातर्फको राउन्ड रोविन लिगको अन्तिम खेलमा पि्रमियरलाई हराउँदै मोर्गनले
उपविजेताका रूपमा फाइनलमा स्थान पक्का गर्‍यो । अब उसले उपाधिका लागि लिगविजेता
डिफेन्डिङ च्याम्पियन प्राइमको सामना गर्नेछ । लिगमा प्राइमले सबै ५ खेलमा जित हात
पारेको थियो । मोर्गनले भने प्राइमसँग हार बेहोरेको थियो । अब फाइनलमा मोर्गनलाई
प्राइमसँग हारको बदला लिने मौका पनि मिलेको छ ।

राखेपको कभर्डहलमा भएको खेलमा मोर्गनले पि्रमियरलाई ६०-१८ ले हरायो । पहिलो
क्वाटरमा २३-२ को अग्रता लिएको मोर्गन दोस्रोमा पनि २१-४ ले अघि रह्यो । तेस्रोमा
मोर्गन ४-६ ले पछि रह्यो । अन्तिम तथा चौथो क्वाटरमा फेरि मोर्गनले १२-६ स्कोर
गर्‍यो । मोर्गनकी मृनालिनी श्रेष्ठले १७ स्कोर गरिन् ।