काठमाडौं – विश्वकप-२०१४ को छनोट चरणको दोस्रो लेगमा बिहीबार नेपालले
जोर्डनसँग एक-एकको बराबरी खेलेको छ । दुवैतर्फको गोल मध्यान्तरपछि भएको हो ।
पाँच दिनअघि जोर्डनको अम्मान रंगशालमा ९ गोल खाएको नेपालले बिहीबार भने घरेलु
मैदानमा प्रदर्शन सुधार्यो । घरेलु दर्शकको समर्थन पाएको नेपाली टोलीले
मध्यान्तरसम्म बलियो टिम जोर्डनलाई रोकेको थियो ।
खेलको ६२ औं मिनेटमा जोर्डनका अमेर दीपको कर्नर किकलाई सदुपयोग गर्दै सहेद असनले
हेड गरी गोल गरे । जुमनु राईसँगै मध्यान्तरपछि मैदान प्रवेश गरेका भरत खवासले ८० औं
मिनेटमा गोल गरी खेल बराबरीमा पुर्याए ।
दशरथ रंगशालामा भएको दोस्रो लेगमा नेपालले कम्तिमा बराबरीमात्र खेलेर भए पनि
पहिलो लेगको फराकिलो पराजयको पीडा कम गरेको छ । जोर्डनको अम्मान रंगशलामा शनिबार
राति नेपालले ९-० को हार बेहोरेको थियो ।



