जल बोकी भारतको मढिया शिव मन्दिरमा चढाउनका लागि जादैं गरेका एक बोलबम यात्रीको मलंगवामा मृत्यु

सर्लाही  – भारतको मढिया स्थित शिव मन्दिरमा चढाउनका लागि बागमती नदीबाट जल बोकी जादैं गरेका एक बोलबम यात्रीको शनिबार सर्लाही सदरमुकाम मलंगवामा मृत्यु भएको छ ।

भारतको सीतामढी जिल्ला बरियारपुर-१ घर भएका १४ बषिर्य रबिन्द्र महतोको मृत्यु
भएको प्रहरीले जनाएको छ । हिजो अपरान्ह बागमती नदीबाट जल उठाएर पैदल मढिया जान
लागेका महतो मलंगवामा पुगेपछि अचानक बेहोस भएका थिए ।

उपचारका लागि तत्काल नजिकै रहेको जिल्ला अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु
भएको प्रहरी उपरीक्षक मोहनराज जोशीले बताउनु भयो । मृतकको लाश भारतबाट आफन्त आएपछि
जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

त्यसतै जल लिएर मढिया जादैं गरेको सितामढी जिल्ला सिमाहिनीका दश बर्षे बालक सरोज
साह मलंगवामा ट्याक्टरबाट लडेर बेहोस भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार
भइरहेको छ ।

भारतको सिमाबर्ती मढीया मन्दिरमा भारतीय र नेपाली बोलबम यात्रु बागमती नदीबाट जल
उठाएर चढाउन लैजाने गर्छन् । हिजो साँझ सम्ममा १० हजार भन्दा बढीले बागमती नदीबाट
जल उठाएका छन् ।