गुँला पर्व सुरु

काठमाडौँ  – साउनशुक्ल प्रतिपदाका दिनदेखि एक महिनासम्म स्वयम्भूमा विशेष मेलाका साथ मनाइने ‘गुँला पर्व’ आइतबारदेखि सुरु हुँदैछ।

नेवार समुदायका बौद्ध अनुयायीले सो एक महिनाको अवधिलाई शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रुपमा लिने गर्छन्। उनीहरूले स्नान गरी बाजागाजासहित भजन गाउँदै स्वयम्भू महाचैत्य, प्रतापपुर, अनन्तपुरलगायतको दर्शन गर्ने र त्यस आसपास क्षेत्रको सम्पूर्णस्थलको परिक्रमा गर्ने चलन छ।

नेवारी भाषामा ‘गुँ’ को अर्थ नौ हो भने ‘ला’को अर्थ महिना हो। यो नेपाल संवतको नवौँ महिनाको पारु तिथिदेखि सुरु हुने गर्छ।

प्रत्येक वर्ष स्वयम्भूमा मनाइने परम्परागत ‘गुँला पर्व’मा यसपटक स्वयम्भूस्थित प्रतापपुर मन्दिरको दर्शन गर्नबाट नेवार समुदाय वञ्चित हुने भएका छन्। गत फागुन ३ गते परेको चट्याङ्बाट सो मन्दिरमा क्षति पुगेपछि त्यसको पुनःनिर्माण पुरा हुन नसकेकाले नेवार समुदायले यस पर्वमा प्रतापपुर मन्दिरको दर्शन गर्न नपाउने भएका हुन्।

राजा प्रताप मल्लद्वारा निर्मित उक्त मन्दिरमा तान्त्रिक देवीलाई राखिएकाले विशेष पूजा नगरी सामान्य अवस्थामा जस्तो मन्दिरभित्र प्रवेश गर्न मिल्दैन।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले सो मन्दिरको पुरातत्व विभागको अग्रसरतामा अन्य सङ्घसंस्थाको सक्रियतामा पुनःनिर्माण गर्न लागिएको भए पनि आर्थिक अभावले पुनःनिर्माण कार्य रोकिएकाले पर्वमा आउने भक्तजनले मन्दिरको दर्शन गर्न नसक्ने चिन्ता व्यक्त गर्नुभयो। रासस