
काठमाडौं – माओवादीले प्रस्ताव गरेका मन्त्रीहरुलाई प्रधानमन्त्री झलनाथ खनालले शपथ खुवाउने भएका छन्। माओवादीले आफूले पठाएका मन्त्रीलाई शपथ नखुवाए समर्थन फिर्ता लिने चेतावनी दिएपछि चौतर्फी विरोधका बाबजुद पनि उनले शपथ खुवाउन लागेका हुन।
पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीले केही मन्त्रीलाई मात्र शपथ खुवाउने बताएका छन्। शपथ नगराउने पार्टीको निर्देशनलाई उनले पार्टीले यस्तो निर्णय नगरेको भन्दै शपथ खुवाउने काम प्रधान मन्त्रीको विशेषाधिकार भएको जिकीर पनि गरे। उनको भनाई थियो- स्थायी समितिले यस्तो निर्णय गरेको छैन।

माओवादीले सरकारमा भएका आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन लगाएर १२ मन्त्री र १२ राज्य मन्त्री सिफारिस गरेको थियो। प्रधानमन्त्रीले माओवादीले केही सङ्ख्या घटाउने सङ्केत पनि गरे। उनले अहिले भइरहेका मन्त्रीले दिएको राजीनामा फिर्ता लिनुपर्ने भनाई पनि राखेका छन्।
राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने तथा प्रधान मन्त्रीले राजीनामा दिनुपर्ने बेलामा मन्त्रिपरिषद् पुनर्गठन गर्न नहुने भन्दै संसदमा प्रमुख प्रतिपक्षी नेपाली कङ्ग्रेस र प्रधान मन्त्री अध्यक्ष रहेकै पार्टी एमालेले विरोध जनाइरहेका छन्। तर प्रधान मन्त्रीले यी सबैखाले विरोधका बीच नै माओवादी मन्त्रीलाई शपथ खुवाउने र यो आफ्नो अधिकारसमेत भएको दाबी गरेका थिए।

एमाले नेता केपी ओली, माधवकुमार नेपाल, प्रदीप ज्ञवाली, भीम रावललगायतले अहिले सरकार पुनर्गठनको बेला नभएको भन्दै पार्टी निर्णयविपरित माओवादीले सिफारिस गरेका मन्त्रीलाई शपथ खुवाए प्रधानमन्त्रीलाई कारबाही गरिने चेतावनी दिँदै आएका छन्।




