काठमाडौं – घरको मूलढोकामाथि नागको चित्र टाँसी पूजा अर्चना गर्दै बिहीबार नाग पञ्चमी मनाइँदै छ ।
प्रत्येक वर्ष श्रावण शुक्लपक्ष पञ्चमीका दिन बिहान सबेरै घरमा लिपपोत गरी शुद्ध गरिसकेपछि घरको मूलढोकामाथि विभिन्न रंग प्रयोग गरी बनाइएको नागको चित्र गोबरले टाँसेर गाईको दूध र दुवो चढाई पूजा अर्चना गर्ने परम्परा छ ।
रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा अर्चना गरेको भन्ने लोककथन छ । यस दिन विशेषगरी नव नाग अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागलाई पूजा गरिन्छ ।
यस दिन काली नागको बासस्थान पाटनको धापाखेल, कर्कोटक नागको बासस्थान टौदह र नक्सालको नाग पोखरीमा मेला लाग्छ ।



