– मकर श्रेष्ठ
छालिङ, भक्तपुर – बलिउडलाई चटक्कै नछाडेकी तर सक्रिय पनि नरहेकी नायिका मनिषा कोइराला शुक्रबार भक्तपुरको छालिङस्थित पञ्चमहालक्ष्मी मन्दिरमा जब पुगिन, पूर्व युवराज पारस शाह आधा घण्टा पहिल्यै त्यहाँ उपस्थित भइसकेका थिए । तर उनीहरुका अनुसार यो संयोगमात्र थियो ।
मनिषाले मन्दिरमा साढे दुई घण्टा बिताइन । श्री विभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्यसंग भेटेर आशिर्बाद लिइन् । पञ्चमहालक्ष्मी र सालग्राम भगवानको दर्शन ग फर्किन । उनले आफू आमा बन्न लागेको खबर गलत भएको पनि सञ्चारकर्मीलाई प्रष्ट्याइन । ‘बजारमा आएको हल्ला गलत हो, प्रेगनेन्ट भएको होइन,’ उनले भनिन् ।
०६७ असारमा व्यवसायी सम्राट दाहालसँग लगनगाँठोमा बाँधिएकी मनिषा ४० को उमेरमा आमा बन्न लागेको हल्ला चलेको थियो । केही समययता सार्वजनिक कार्यक्रममा देखिन छाडेपछि यस्तो गाइगुई सुरु भएको थियो ।
यसबीचमा उनले पति सम्राटसँग ठाकठुक परेको हल्लाको पनि सामना गर्नु परेको थियो । ‘हामी संगै बस्छौ, बाहिर आएको कुरा गलत हो, सम्बन्ध राम्रो छ,’ उनले स्पष्ट पारिन । पेन्टीङ र विपश्यना ध्यान गरेर दिन बिताईरहेको पनि मनिषाले बताइन । उनी शुक्रबार ध्यानकेन्द्रबाट सिधै छालिङ पुगेकी थिइन् ।
मनिषा मन्दिर पुग्नु आधा घण्टाअगावै पूर्व युवराज पारस त्यहाँ पसिसकेका थिए । मन्दिरको कुटीमा स्वामी कमलयनाचार्यसँग भेटका लागि पारसले करिब पौने एक घण्टा बिताउदा मनिषा कुरेर बसेकी थिइन । मन्दिरमा मनिषा र उनकी आमा सुष्मा संगै थिए ।
पारस र मनिषालाई एकैदिन एउटै मन्दिरमा देख्दा वपका बासिन्दा पनि हेर्न झुम्मिएका थिए । धेरैले मनिषा र पारससंग छुट्टाछुट्टै बसेर तस्बिर खिचाए । पारसका सुरक्षाकर्मी पनि केहीबेर मनिषाकै छेउछाउ देखिन्थे । मनिषा र पारस भने पटकपटक आमनेसामने हुँदा पनि बोलचाल गरेनन् ।
मन्दिरमा आराधना हुँदा मनिषाले हात जोडेर नमस्कार ग बसेकी थिइन भने पारस हात बाँधेर बसेका थिए । मन्दिरमा सधैजसो जाने स्वामीका भक्तजन भने दुबै जनाको दायाबाया र पछाडि उभिएर बसेका थिए । पुजा सकेर दुबैले टपमा प्लाष्टिकको चम्चाले प्रसाद खाएर फर्के । भेट संयोग भएको दुबैले सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । ‘हाम्रो भेट संयोगमात्रै हो,’ मनिषाले भनिन, ‘मेरो यहाँ आउने कार्यक्रम आज तय भएको हो, उहाँ (पारस) को पहिल्यै भएको रहेछ ।’