विराटनगरमा इन्धन कारोबार ठप्प

– माधव घिमिरे

 

विराटनगर – नेपाल आयल निगमले तोकेको मूल्यभन्दा बढीमा इन्धन बेच्न नपाउने भएपछि पूर्वका पेट्रोलियम व्यवसायीले निगमबाट इन्धन लिन छाडेका छन् । निगमले तोकेको दरमा केही पैसा थप गरी इन्धन बेच्दै आएकामा प्रशासन र निगमले साबिक मूल्यमै बेच्न भनेपछि व्यवसायी असन्तुट बनेका हुन्  ।

व्यवसायीले दुई दिनदेखि निगमको विराटनगरस्थित डिपोबाट इन्धन लिन बन्द गरेका छन् । विराटनगर डिपोबाट अचेल (अफ सिजनमा) दैनिक करिब ३ सय किलोलिटर इन्धन व्यवसायीले लिंदै आएका थिए । सिजनमा भने डिजल, पेट्रोल र मटितेल गरी यसभन्दा करिब दोब्बर परिमाणमा इन्धन व्यवसायीले लिने गरेका छन् ।

ढुवानीलगायत खर्च बढी परेको भन्दै व्यवसायीले निगमले तोकेकोभन्दा बढी मूल्यमा इन्धन बेच्दै आएका थिए । बढी मूल्य लिएको भन्दै यातायात व्यवसायीले विरोध गर्दै आएका छन् । उनीहरुले साबिक मूल्यमा इन्धन उपलब्ध हुने व्यवस्था गरिदिन निगम र प्रंशासनको ध्यानाकर्षण गराएका थिए । त्यसपछि व्यवसायीलाई साबिक मूल्यमा इन्धन बेच्न प्रशासनले निर्देशन दिएको थियो ।

लागतअनुसार मूल्य तय गरिएको दावी पेट्रोलियम डिलर्स एशोसिएसन कोसी अञ्चल समितिका महासचिव अरबिन्द शर्माको छ । आयल निगमसँग भएको सहमतिअनुसारै ढुवानी खर्च, वीमा, ओभरहेड कष्ट, वर्किङ कष्ट जस्ता लागत बढेका लागतलाई समायोजन गर्न एशोसिएसनले मूल्य तय गरेको उनको भनाइ छ । निगमले कमिशनवापत ५ प्रतिशत दिनुपर्नेमा ३ प्रतिशतमात्र दिने गरेको उहाँले बताए ।