कालोमोसो दलेर यातना दिएपछि बुटवलकी एक महिलाद्वारा आत्महत्या

– अमृता अनमोल

 

बुटवल  – बानी सुधार्ने नाममा स्थानीय जनजागरण महिला समूहका पदाधिकारीसहितका महिलाले हातखुट्टा बाँधी कालोमोसो दलेर यातना दिएपछि बुटवलकी एक महिलाले आत्महत्या गरेकी छन् ।

 यातनापछि आत्मग्लानिका कारण बुटवल-१३ योगीकुटीकी ४२ वर्षे कविता थापाले राति आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको स्थानीयवासीले बताए ।

रक्सी खाएर होहल्ला गरी हिँडेको र परपुरुषसँग लसपस गरेको लगायत आरोपमा शनिबार दिउँसो योगीकुटीको शिवालयमा उनलाई कालोमोसो दलेर हातखुट्टा बाँधी यातना दिएका थिए । 

अमानवीय व्यवहारका कारण कविता आत्महत्या गर्न बाध्य भएको भन्दै महिला समूह त्यसमा जिम्मेवार रहेको परिवार र स्थानीयले बताएका छन् । उनीहरूले समूहका पदाधिकारीमाथि कडा कारबाहीको माग राख्दै प्रहरीमा उजुरी गरेका छन् ।

‘झन्डै ५०-६० महिलाले शिवालय अगाडि लगेर हातखुट्टा बाँधेर एक घन्टाभन्दा बढी समय रक्सी छोड्ने कि नाई भन्दै थर्काउने, कुटपिट गर्ने र कालो दल्ने गरेका थिए,’ छिमेकी मन्जु रेस्टुरेन्टकी रूपा भण्डारी छेत्रीले भनिन्, ‘दुव्र्यवहार र यातनाकै कारण उनले आत्महत्याको बाटो अंगालेकी हुन् ।’

प्रत्यक्षदर्शीहरूका अनुसार श्रीमान्, बुहारी र नातिका साथ बस्ने भए पनि महिला समूहका पदाधिकारीसहितले आइतबार कवितालाई घरमा कोही नभएका बेलामा नियन्त्रणमा लिएका थिए । उनीहरूले दुव्र्यवहार गर्दा वरपरका धेरैजसो रमिते भएका थिए । केहीले ‘यसो नगर’ भन्दा समूहका महिलाहरूले ‘उनको जिम्मा लिन्छौ र’ भन्दै हकारेका थिए । 

धेरैबेरपछि योगीकुटीमा रहेको नगर प्रहरी आएर गाली गरेपछि मात्र महिलाहरूले कवितालाई छोडेका थिए । ‘मुखभरि कालोमोसो भएकी कविताले मैले पानी दिएपछि मुख धोएकी थिइन्,’ प्रत्यक्षदर्शी रूपाले थपिन् । यातनापछि घर गएकी कविता खाना पनि नखाई कोठामा पसेको र राति झुन्डिएको अवस्थामा भेटिएको बुहारी तारा थापाले बताइन् । आत्महत्या गरेकी कविताका मुखभरि नीलडाम थिए । 

भाइ भीमसेन पोखरेलले दिदीको गल्ती भए सुधार्ने अरू उपाय हुन्थ्यो भन्दै महिला समूहका नाममा कानुन हातमा लिएर यातना दिँदा दिदीले ज्यान गुमाउनु परेकामा आक्रोश व्यक्त गरे । दिदीको शवनजिकै रोइरहेका उनले समूहका महिलाहरूले सबै कुराको सीमा नाघेको बताए । ‘मैले दिदी गुमाएँ तर अब यस्तो पीडा अरूले भोग्न नपरोस् भन्नका लागि पनि उनीहरूमाथि कारबाही हुनुपर्छ,’ उनले भने ।

घटनास्थल पुगेका प्रहरी कार्यालय योगीकुटीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक होम श्रेष्ठले आइतबार दिउँसो स्थानीयले खबर गरेपछि आफू पुग्दा समूहका महिलाहरूले कविताका खुट्टा बाँधेर यातना दिएको देखेको र तत्काल खोल्न लगाई उनीहरूलाई हटाएको बताए । कविताको आत्महत्यापछि आइतबार साँझसम्म शव आँगनमै राखिएको छ भने स्थानीय योगीकुटी टोल पूरै शोकमग्न छ ।