भक्तपुरको गुण्डु गाविसका पुष्प व्यवसायीलाई यतिखेर हिन्दुहरूको दोस्रो चाड तिहारका लागि आवश्यक पर्ने मखमली फूल टिप्ने चटारो छ।
गतवर्ष यस गाविसबाट मात्र रु. तीन करोडको मखमली फूल तथा माला बिक्री गरेका यहाँका किसानले यस वर्ष पनि अत्यधिक मात्रामा मखमली तथा सयपत्री फूलको खेती गरेका छन् । साउन महिनाको सुरुदेखि नै मखमली फूल टिप्न चटारो परेको र अहिलेसम्म तीन पटक फूल टिपिसकेको गुण्डुकी सरिता कुँवर बताउँछिन् । भक्तपुरको गुण्डुमा सबैभन्दा बढी फूल खेती हुन्छ । यहाँका किसानले एकै घरमा कम्तीमा पनि पाँच सय माला उनेर तयार गर्दछन् । गुण्डुको 4, 8 र 9 का प्रत्येक घरले कम्तीमा पनि आधा रोपनीदेखि पाँच रोपनीबारीमा फूल खेती गर्ने गरेका छन् ।
सबैले साउनदेखि मखमली माला तयार गरी घरको ओसिलो ठाउँमा राख्ने गर्दछन् । गतवर्ष तीन हजार माला उनेर बिक्री गरेकी किसान कुँवरले भनिन्- ‘माला खोज्न व्यापारी आउनुभन्दा पहिला नै तयार गरेको हो, तिहारमा हतार गरेर खेताला लगाएर माला उन्नुपर्ने बाध्यता रहने भएकाले अहिलेदेखि नै माला गाँस्ने गरिएको हो ।



