काठमाडौं – शान्ति र संविधानका लागि आफ्नो कार्यकाल सफल हुन नसकेको देशको ३४ औँ प्रधानमन्त्रीका रुपमा छ महिना नौ दिनअघि शपथ ग्रहण गरेका प्रधानमन्त्री झलनाथ खनालले स्वीकार गरेका छन् ।
असफल प्रधानमन्त्रीले राष्ट्रपति रामवरण यादवसमक्ष राजीनामा बुझाएपछि फर्किनेक्रममा यस्तो बताएका हुन् । खनाल गत माघ २० गते माओवादी समर्थनमा प्रधानमन्त्री निर्वाचित भएका थिए ।
त्यसअघि प्रधानमन्त्री खनालले सरकारी निवास बालुवाटारमा आफ्नो राजीनामाबारे माओवादी र कांग्रेसका नेताहरुलाई जानकारी गराएका थिए । राजीनामा दिने घोषणा गरेर एमाले बैठकबाट फर्किएलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई, कांग्रेस सभापति सुशील कोइरालालगायतका नेताहरु बालुवाटार पुगेका थिए ।
बैठकमा प्रधानमन्त्रीले आफ्नो राजीनामा र एमाले केन्द्रीय कमिटी निर्णयबारे जानकारी गराएका थिए । ‘राजीनामा दिने भनेपछि सहमतिका लागि छलफल आवश्यक्तै रहेन, बैठक छोटो समयमात्र बस्यो,’ प्रेस सल्लाहकार थापाले भने ।
