खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता भदौ दोस्रो साता हुने

काठमाडौ  – काठमाडौ इन्द्रचोक क्लब खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता भदौ दोस्रो साता हुने भएको छ ।

इन्द्रचोक क्लबको आयोजनामा हुने प्रतियोगिता भदौ १२ देखि १७ सम्म सञ्चालन हुनेछ । आयोजक क्लबका अध्यक्ष कृष्णमान सिंहले दिएको जानकारीअनुसार स्विस लिग प्रणालीका आधारमा हुने प्रतियोगितामा पहिलो र अन्तिम दिन एक/एक राउन्ड तथा अन्य दिन दुई/दुई राउन्डका खेल हुनेछन् ।

फिडे र नेपाल बुद्धिचाल संघको स्विकृतिमा क्लबले पहिलोपल्ट आयोजना गर्न लागेको प्रतियोगिताको कुल पुरस्कार ५१ हजार रहेको छ । विजेताले ११ हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ट दसमा रहने सबैलाई नगद पुरस्कार र सिल्डको व्यवस्था गरिएको छ । त्यस्तै अनरेटेडतर्फका शीर्ष दुई र स्थानीय उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने जानकारी दिइएको छ ।

यसमा शीर्ष वरीयताका अधिकांश खेलाडीले सहभागिता जनाउने प्रतियोगिता संयोजक तथा बुद्धिचालका पूर्वराष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यले जानकारी दिए । उनले ४० रेटेडसहित ७० खेलाडीको सहभागिता रहेको र उपत्यका बाहिरका खेलाडीलाई बस्ने व्यवस्था गरिएको बताए । प्रतियोगिताको कुल खर्च दुई लाख रुपैयाँ छ ।