सुदूर पश्चिमका जिल्लाहरुमा गौरा भित्र्याईदै

सुदूर पश्चिमका जिल्लाहरुमा आज गौरा भित्र्याईदैछ । भाद्र शुक्ल सप्तमीको दिन गौरा भित्राउने चलन रहेको छ । कुश, धान, साउँ, अपामार्ग, तिल लगायत ९ बोटबाट तयार गरिने गौरा पञ्चकन्या तथा ब्रतालुहरुले बाजागाजा र फाँग गाएर नचाउँदै घरमा भित्र्याउंछन् ।

 

धार्मिक ग्रन्थ अनुसार पार्वती र भगवान शिवको विवाह भएको लगनको रुपमा गौरालाई लिइन्छ । गौरा भित्राएको दोश्रो दिन महेश्वरसँग धुमधामसँग बिवाह गरिन्छ । गौराको व्रत बस्ने महिलाहरुले प्रसादको रुपमा घाँटीमा दुवाधागो बाध्ने र अन्यलाई प्रसाद दिने गर्दछन् । आजदेखि एक सातासम्म मनाईने यस पर्वमा चैत्, ढुस्का, धुमारी, तुलसी र डेउडा गीत गाईन्छ ।

 

गौराको समयमा कामका लागि बाहिर गएकाहरु घर फर्किने, मिठो मसिनो खाने र नयाँ लुगा लगाउने गर्दछन् । यो पर्व काठमाण्डौंका साथै भारतका कुमाउ र गढवालमा पनि मनाईने गरिन्छ । गौराको अन्तिम दिन दुलहीलाई विवाह गरेर पठाए झै गरी बाजागाजा र फाँग गाउँदै गौरा विसर्जन गरिन्छ ।